साईकल सिटी भैरहवाको स्थापना र योजना 

 भैरहवाका पुराना स्थायी बासिन्दाहरुले प्राय साईकल चढेर आफ्नो दैनिकी र जीवनका धेरै पलहरु बिताएका छन्। ति साईकलसंगका पलहरु कसले कसरी बिताए,अतितका धेरै अनौठा,मिठा र तिता अनुभवहरुको संगालो अब वर्णन गरेर सकिदैन। साईकलको सयर गर्दाका कति सम्झनाहरु स्मरण गर्न सकिन्छ भने कति ईतिहास बनेर श्यामस्वेत फोटोमा सिमित भएका छन्। तर जे होस् भैरहवासंग हलपल साईकल अवश्य सधै जोडिएर आउछ। अहिले भैरहवाको समाज आफुलाई जति नै आधुनिकतामा सिङ्गारिन खोजे पनि आखिर साईकल विनाको भैरहवा अहिले पनि खल्लो नै लाग्छ र देखिन्छ पनि। त्यसैले भैरहवाले आजसम्म पनि साईकललाई आफ्नो परिवेशबाट हटाउन सकेको छैन। 

        भैरहवाको आधुनिक साईकल यात्राको त्यो दिन २०७७ साल जेष्ठ १९ गतेका दिन सामाजिक संजाल मार्फत सबै साईकल चलाउने साईकिलेहरुलाई बिहानी पख ७ बजे होटेल पौवामा भेला हुन् आग्रह गरे भैरहवाका साईकिले सुर्य कुमार सारुमगरले। करिब ५० भन्दा बढी साइकिले सहभागी हुने प्रतिबद्धता जाहेर गरे पनि १५ जना स्वतस्फुर्त समयमा होटेल पौवा पुगे साईकल नै चलाएर। 

      चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस नेपाल पसी सकेको अवस्था थियो। तर महामारी नै त् थिएन। त्यहि पनि सरकारले चैत्र ११ गते देखि देशभर लक्डाउन घोषणा गरेको थियो। भैरहवाको सबै थोक बन्द थियो। प्राय जसो नेपालमा विभिन्न कारणले बन्द हड्ताल हुने हुदा सबै ठप्प नै हुने गर्दछ। जसले जस्तोसुकै बन्द हड्ताल गरे पनि एउटा यस्तो सवारी साधन छ त्यो निर्वाध चलि रहन्छ, त्यो हो साईकल। लकडाउनको समयमा कुनै काम -धन्धा नहुने,कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नु पर्ने,तर आफ्नो स्वास्थ्य र आवतजावत गर्न  भैरहवावासिलाई साईकल बाहेक अरु विकल्प रहेन। सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका लागि र अन्य कामका लागि पनि अति उपयुक्त कसैले छेकबार नगर्ने भए पछि साइकललाई नै रोजे भैरहवावासिले। भनौ न तराईका धेरै भूभागमा अहिले पनि साईकल विना अपांग झैँ हुन्छन मानिसहरु। तराईका बासिन्दाहरुको लागी पहिलो यातायातको साधन नै  साईकल हो।   

            धेरै दिन देखि घरको सिढी मुनि,बरांडा या स्टोरमा धुलै धुलो भएको साईकल निकालेर त्यसलाई नयाँ जीवन दिदै सयर र कामका लागि प्रयोग गर्न शुरु गरेका थिए। अन्य सवारी साधन नचले पछि सडकमा साईकल मात्र कुदी रहेको सबैले देख्न थालेपछि पसलमा गएर नयाँ साईकल खरिद पनि गरे। यो आधुनिक युगमा भैरहवामा साइकल चलाउने सबै उमेर समुहका धेरै साईकिले बनि सकेका थिए। अन्य शहरमा आधुनिक साईकिलेहरुको समुह,क्लब र संस्था गठन गरि विभिन्न कार्यक्रम र योजनाहरु बनाइ सकेका थिए। त्यसरी नै भैरहवाका साईकिलेहरुलाई एक जुट गराई भैरहवालाई एउटा साईकल शहरको रुपमा चिनाउने सोचका साथ  एकल साईकल कुदाउने साईकिले सुर्य सारुमगरले आफ्नो सामाजिक संजाल मार्फत सबै साइकिले र साइकललाई माया गर्नेहरुलाई भेला हुन् आव्हान गरेका थिए। 

         २०७७,जेष्ठ १९ गतेका दिन भने अनुसारको साईकिलेहरु उपस्थित नरहेता पनि उपस्थित भएकाहरुलाई आफ्नो सोच र सङ्गठित हुने पर्ने बारे सारुमगरले जानकारी गराएका थिए। 

जानकारी गराए अनुसारका बुँदाहरु :- 

१. भगवान गौतम बुद्धको जन्म स्थलको प्रवेशद्वारको रुपमा रहेको भैरहवालाई साईकल शहरको रुपमा विकास गरि पहिचान गराउने। 

२. धेरै भन्दा धेरै साईकल प्रयोग गरि प्रदुषण रहित शहर बनाउने।   

३. शहरमा घर बढ्ने क्रम रहेको हुदा ट्राफिक जाम र पर्किङ्गको समस्यालाई कम गर्ने । 

४. दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने । 

५.  साईकल प्रयोग गरी  भैरहवावासिको स्वास्थ्य राम्रो बनाउने।  

६. धेरै युवायुवतीहरुको मोटरसाइकल दुर्घटनाबाट ज्यान गएको हुदा साईकल चलाउने प्रति प्रेरित गर्ने। 

७. पेट्रोलियम पदार्थ कम प्रयोग गर्न साईकल सम्बन्धि विभिन्न प्रकारको कार्यक्रम गर्ने।

           माथिका बुदाँहरुमा उपस्थित सबैको सहमति पछि समुहको नाम “भैरहवा साइकिलिङ्ग क्लब” राख्ने छलफल भयो। सुर्य कुमार सारुमगरको अधय्क्षतामा एउटा नौ सदस्यीय कार्यसमिति गठन संगै भैरहवा साईकिलिङ्ग क्लबको यात्रा शुरु भयो। हरेक दिन बिहान सिद्धार्थ रंगशालामा उपस्थित भै शहरको हर गल्लि र सडकमा साईकल चलाउने र भैरहवावासिलाई साइकल चलाउन प्रोत्साहन गर्ने र धेरै भन्दा धेरै फोटोहरु सामाजिक संजालमा पोस्ट गरि सुचना प्रवाह गर्ने सर्वसहमतिबाट निर्णय भयो। यसरी नै शुरु हुन्थियो भैरहवाका साईकिलेहरुको बिहानीपख ! लकडाउन निक्कै लामो भएका कारण पनि भैरहवामा दिनप्रति दिन साइकिल प्रयोगकर्ताहरु बढ्न थाल्यो।  

              भैरहवा नेपालको पहिलो नगरपालिका हो,जहाँ पहिलो पटक थोरै भए पनि साइकल लेन बनाएर शुरुआत गरेको थियो। तर त्यो साईकललेन बारे कसैले चासो लिएको देखिएन। न त्यो भन्दा बढी लेन बनाउन स्थानीय सरकारले कुनै ध्यान दिएको पनि देखिदैन। रणअम्भिका आखाँ अस्पताल देखि खजाना वार्ड ३ सम्म करिब ३०० मिटरको दुवै तर्फ साईकल लेन बनाउने पहिलो शहर भैरहवा नै हो। त्यसैले भैरहवाका साईकिलिष्टलेहरु त्यसको पहिचान र प्रचारको लागि बिहान आफ्नो साइकल लिएर भेला हुने स्थान तय गरेको थियो। यस्तै दैनिक भेला हुने र शहरको हरेक बाटो र टोलमा साईकल चलाउन क्रम निरन्तर जारि थियो। २७ सेक्टेम्बर २०२० को विश्व पर्यटन दिवसको अवसर परेर भैरहवा देखि लुम्बिनी सम्मको “साईकल यात्रा” गर्ने तय गरौ। नारा थियो भैरहवा देखि लुम्बिनीसम्म सडकको दुवै किनारामा साइकल लेन बनाउन दबाव र शान्तिका अग्रदुत भगवान बुद्धको जन्म स्थलको वरपर साइकल सवारलाई प्रोत्साहन गर्ने। साईकल यात्रा गर्ने तय पक्का गरे पछि बुटवल,तिलोत्तमा र वरपरका सबै साईकिलिष्टहरुलाई उक्त यात्रामा सहभागी हुन् अनुरोध गरौ र सो दिन एउटा भब्य ” भैरहवा देखी लुम्बिनी साईकल यात्रा” सम्पन्न गरौ। 

         साईकल यात्रा पश्चयात समिक्षा बैठक गरि हामीले भैरहवा साईकिलिंग क्लबको नाम परिवर्तन गरि “साईकल सिटी भैरहवा” नामकरण गरि जिल्ला प्रशासन कार्यलयमा अधिकारिक रुपले दर्ताका लागि काम अगाडी बढाउने निर्णय गरौ। र अहिले साईकल सिटी भैरहवा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आधिकारिक रुपले दर्ता गरि संचालन भैरहेको छ। जसमा ७४ जना संसथापक सदस्य रहेका छन् भने सदस्य बन्ने क्रम निरन्तर अघि बढी रहेको छ। 

        हामीले भैरहवामा भएका अन्य संघसंस्थाहरुको समन्वयमा भैरहवालाई साइकल शहर बनाउने कार्यमा निरन्तर लागि रहेका छौ। साईकल प्रति शहरवासीलाई उत्सुकता जगाउन विभिन्न कार्यक्रम गरि रहेका छौ। त्यतिखेर जेसिआई सिद्धार्थले “स्वास्थ्य र सम्पदा प्रबर्धन” भन्ने नारा राखी भैरहवा देखि त्रिवेणीधाम सम्मको साईकल यात्रा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहज्युको प्रमुख आथित्यमा भव्यताका साथ सम्पन्न गरेको थियो। यसरी नै अन्य साईकलसंग सम्बन्धित कार्यक्रमहरु पनि गरि रहेको सबैलाई अवगत नै छ। नेपाल साइकल उत्सव २०२० का टिम र एकल साइकल यात्री स्वेता श्रेष्ठलाई साइकल सिटी भैरहवाले भैरहवामा भब्य स्वागत तथा विदाई गरेको थियो।  

                 सामाजिक कार्यमा पनि साईकल सिटी भैरहवाले सहयोगको हात बढाएको छ। दोलखा चरिकोटमा संचालनमा रहेको भिमेश्वर बाल बहिरा स्कुललाइ रु. ५१,०००/- (रु. एकाउन्न हजार मात्र ) आर्थिक सहयोग गरि सकेको छ। नगर भित्रका सडकहरुमा साइकल लेन बनाउनका लागि नगर प्रमुख र वार्ड अधक्ष्यज्युहरुलाई लिखित र मौखिक जानकारी गराई सकेका छौ। भैरहवा नेपालको पहिलो साईकल शहर बनाउने साईकल सिटी भैरहवाको ड्रिम प्रोजेक्ट रहेको सबैमा जानकारी गराउन चाहन्छौ। त्यसैले साइकल चढी,हाम्रो शहरलाई प्रदुषण मुक्त,ट्राफिक जाम मुक्त,दुर्घटना मुक्त र विरामी मुक्त शहरमा हाम्रो भैरहवालाई परिणत गरौ। यो हामी सबैको दायित्व पनि हो कि हाम्रा भावी सन्ततिलाई हामीले कस्तो शहर उपहार दिने छौ।  

                   अहिले साईकल सिटी भैरहवाले “स्वास्थ्य,पर्यावरण र पर्यटन” आफ्नो मूल नारा बनाएको छ। त्यही नारालाई आत्मसात गर्दै हरेक दिन बिहान ५.३० बजे सामुहिक रुपमा साईकल कुदाउने कार्य निरन्तर भैरहेको छ। जसमा हरेक शुक्रबार शहरको नागरिकमा साईकल प्राप्ति जनचेतना र चाहना बढ्न प्रेरणा जागोस भनेर सिटी राईड गर्ने गरिएको छ। साथ साथै भैरहवामा पाहुना भई आउने आन्तरिक र बाहिर्य पर्यटकहरुलाई भैरहवा बारे जानकारी गराउन हरेक महिनाको अन्तिम शनिबार बिहान ६ बजे लुम्बिनीगेटबाट शुरु गरेर नगर परिक्रमा गर्न नगरवासी र पर्यटन व्यवसायीहरुलाई अनुरॊध गर्दछौ। उहाँहरुलाई साईकल सिटी भैरहवाले जानकारीका साथ भैरहवामा रहेको मन्दिर,गुम्बा,मस्जिद,बजार,टोल,मोहल्ला,अस्पताल,शैक्षिकसंस्था,कार्यालय,सभाहल इत्यादी स्थानहरु घुमाउने छ। 

        साईकल सिटी भैरहवाले देशका विभिन्न पर्यटकीय गन्तब्य र स्थानीय उब्जनिहरुको प्रचार प्रसारका लागी पनि हरेक वर्ष तिन दिनको साईकल यात्रा गर्ने गरेको छ। विगत चार वर्ष देखि गर्दै आई रहेको यस्ता साईकल यात्रामा अर्घाखांचीको सुपादेउराली,पाल्पाको रानीमहल,पाल्पाको रम्भादेवी मन्दिर,तनहुँको मानुङ्गकोट डाँडा सम्मको साईकल यात्रा गरेर थोरै भए पनि प्रचार प्रसार गरेको छ।  साथै यो वर्ष २०८० मा “नेपालको होमस्टे हाम्रो संस्कार र परम्परा” भन्ने नारा राखी वालिंगको बझाकोट र स्याङ्गजाको सिरुवारी समुदाय होमस्टे सहित पोखरा सम्मको साईकल यात्रा सफलता साथ सम्पन्न गरि सकेको छ। 

           भैरहवालाई भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेश द्वार मात्र नभएर बुद्धको मावली र उनको अहिलेसम्म उत्खनन नगरेको अस्तु धातु रहेको स्थान रामग्राम पुग्ने मुख्य शहर पनि हो भैरहवा। त्यसैले यो तराईको शहरहरु मध्ये पुरानो शहर रहेको हुनाले र यहाँ अहिले पर्यटक र आम मानिसलाई आफ्नो चाहना अनुसार आवस्यक पर्ने सम्पूर्ण भौतिक संरचना निर्माण भै सकेको हुनाले यो शहरलाई सबैले चिन्नु र घुम्नू पर्छ भन्ने उदेश्यले साईकल सिटी भैरहवाले अन्तराष्ट्रिय स्तरको “बुद्ध ज्ञान साईकल यात्रा” कार्यक्रम गर्दैछ। जसमा देश विदेशका साईकिलिष्टहरुलाई निम्तो गरेर बुद्ध सर्किटमा साईकलमा घुमाउने,जानकारी दिने र ध्यान र ज्ञान प्राप्त गर्ने रहेको छ। 

             साईकल सिटी भैरहवाले अहिले सम्म गरिरहेको कार्यक्रम बुदागत रुपले यही हो र भविष्यमा यदि स्थानीय सरकारले जग्गा उपलब्ध गराए एउटा साईकल पार्क बनाउने छ, जहाँ शहरका केटाकेटीहरुले साईकल सिखने र आफुलाई राष्ट्रको होनहार साईकिलिष्ट बन्ने चाहना पुरा गर्ने छन्। त्यससंगै पर्यटकहरुका लागी साईकल  संग्रालय बनाउने सपना लिएको छ। 

         आउनुस साईकल सिटी भैरहवासंगै हरेक दिन साईकल कुदाउ र आफ्नो स्वास्थ्य,आफ्नो शहर र आफ्नो सन्ततिलाई बचाउने ठुलो र पबित्र अभियानमा जुडौ। निकट भविष्यमा भैरहवालाई साईकल शहर बनाउने हातेमालो गरौ।  

       अन्तमा स्थापनाको समय २०७७ जेष्ठ १९ गते उपस्थित भई आफ्ना अतन्त्य गहकिला सुझाव सल्लाह दिने हाम्रा भैरहवाका अति मिलनसार जुझारु युवाहरु साइकिले श्याम राना मगर र इन्जिनियर सुबोध तुलाचन दुवै जनाको अल्प आयुमै असामयिक निधनले हामी भैरहवावासिलाई दुखित र अभाव महशुस गराएको छ। दिवंगत दुबैको आत्मालाई सधै शान्ति र सुगति प्राप्त होस्,हामि सबै भैरहवावासी साइकिलेहरुको भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। 

spot_img
spot_img