” जुन मानिस घरभन्दा पर गएर कार्य गर्दैन ,
अनि जसको ऋण हुदैन,त्यो मानिस खुशी हुन्छ। “
-चाणक्य
चाणक्यको यो माथिको भनाईसंग शायद कुनै पनि नेपाली जनता दुईमत नहोलान। अहिले ठिक विपरित हाम्रो देश र हामी नेपालीको दैनिकी जीवन बिति रहेको छ। चाणक्यले आफ्नो नितिशास्त्रमा भने अनुसार देशका सबै जनतालाई खुशी राख्नु राज्यको दायित्व हो। जनतालाई खुशी राख्न देशभित्र रोजगारी दिने काम राज्यको हो। तर नेपालमा अहिले विश्वविद्यालय पास गरेका युवाहरु विदेशतिर लर्को लागेका छन् भने जेलबाट निस्केकाहरु देश संचालनमा लागी परेका छन्।
चाणक्यले आफ्नो नितिशास्त्रमा राज्य संचालन गर्नका लागी त्यही व्यक्ति सक्षम हुन्छन जो बुद्धिमान,साहसी,धैर्यवान,संयमी र दुरदर्शी छन्। साथै सहयोगीका रुपमा मन्त्री,सचिव,प्रशासनिक एंव न्यायिक पदाधिकारीहरु योग्य,चरित्रवान र विभिन्न कलामा निपूर्ण हुनु पर्ने औल्याएका थिए। उनीहरु मतिभ्रष्ट,लाचार,धुर्त होइन लोककल्याणकारी भावानाले ओतप्रोत हुनुपर्छ भनेका थिए।
चाणक्यको नीतिशास्त्र अनुसारको शासकहरुको कमी नै नेपालका लागी अभिशाप भएको छ। विभिन्न आरोह अवरोह पछि जब देशमा लोकतंत्र आयो,यहाँ शासकहरुले पालै पालो सत्ता हाक्न थाले तर तिनले देशको विकास होइन आफ्नो र आफ्ना आसेपासेका विकास बेसरी गरे। विकास पनि नैतिक भन्दा अनैतिक हिसाबले गरेका कारण आजसम्म आफु बच्ने राजनीति मात्र गरि रहेका छन्।
भनिन्छ नि एक असत्य कार्य लुकाउन हजार असत्य कार्य गर्नु पर्छ। हो त्यही क्रियाकलापमा देशका नेता र प्रशासकहरुको दैनिकी बितिरहेको छ। जसले गर्दा आज मुलुकको अवस्था झन् झन् नाजुक बन्दै गएको हाम्रो सामु छर्लंग छ।
देशभित्र रोजगारी सिर्जना गरेर आफ्नो परिवारसंग बस्ने वातावरण राज्यले गरि दिनु पर्ने हो। तर यहाँ राज्यले नै आफ्ना नागरिकहरुलाई श्रमिकको रुपमा विश्व बजारमा कुनै फेक्टरीबाट उत्पादन भएको समान झैँ दैनिक हजारौको संख्यामा विदेशी रोजगारदातालाई सस्तोमा बेचिरहेको छ।सरकारले कानून नै बनाएर बेचिरहेको छ। त्यो गरेपछि सरकारले आफ्नो जनतालाई देशभित्र रोजगारी दिनु पर्ने समस्याबाट जानी जानी उम्कि रहेको छ। हिजो सरकारले संचालन गरेका उधोगहरु निजीकरणको नाममा व्यक्तिलाई जिम्मा लगाए र आफ्नै कार्यकर्तालाई प्रयोग गरेर सबै उधोगहरु बन्द गराई छाडे। अहिले ति उधोगका जग्गामा चलखेल र रजाई गरेका छन्।
यहाँ देशमा उधोग चालोस नचलोस उनीहरुलाई कुनै मतलब छैन,बस ! उनीलाई विभिन्न रुपमा विदेशीलाई नेपाली जनताका छोराछोरी सजिलो गरी बेच्न पाए हुन्छ। यही प्रक्रिया आज अवैध रुपले पनि चलिरहदा धेरै नेपालीहरुले सास्ती भोग्नु परेको छ। सास्ती मात्र होइन ,ज्यान नै गुमाएका छन्। आज नेपालबाट शैक्षिक भिसामा गएका युवाहरु,विदेशी सेनामा भर्ति भएर लडाईको मैदान पुगी सक्दा पनि यहाँका शासकहरुले थाहा नपाए झैँ बसी रहनु उनीहरुको देश र जनता प्रतिको नियत प्रष्ट देखिन्छ।

गाउँ गाउँमा सिंहदरबार होइन कि गाउँ गाउँमा भ्रस्टाचार बढेको छ। अहिले जनप्रतिनिधिहरु नै अख्तियारको फन्दामा परेका धेरै उदाहरणहरु छन्। अहिले हरेक प्रदेश सरकारको गतिविधि हेर्दा प्रष्ट हुन्छ ,कतै सरकार पटक पटक फेर्ने,त कतै सरकारको पूर्णता दिन नसक्ने,अनि चिठ्ठा विधेयकमा बाझाबाझ गरेर संसद्को समय खेर फाली रहेका छन्। संघमा पनि सांसद हरुको उही चाल छ। देश र जनतालाई आवस्यक पर्ने नीति तथा कानून हरु बनि सक्नु पर्ने तर कुर्सीमा को कति समय बस्ने भन्ने होडबाजी मात्र चलेको देखिन्छ।
तर पनि राजनैतिक दलहरु मिसन ८४ भन्दै भाषण गरि रहेका छन्। ८४ सम्म शायद देश नै रित्तिने पो हो कि भन्ने कुरामा ध्यान कसैको गएको देखिदैन। देशमा हुने २०८४ को निर्वाचनमा मत दिने मतदाता नै देशमा नहुने भए पछि कसका लागी राजनीति गरि रहेका छन् ?
देशभित्र धेरै भन्दा धेरै रोजगारी सृजना गरेर युवाशक्तिलाई देश विकासमा लगाउने प्रति आजसम्म कसैको ध्यान गएको देखिदैन।चुनाव ताका देशलाई स्विजरलेण्ड नै बनाउने उद्धघोष गर्ने,चुनाव सकिएपछि कहाँबाट कमिशन प्राप्त हुन्छ भन्ने तिर मात्र ध्यान दिदा आज देश रित्तिदै गएको छ । यदि वैदेशिक रोजगारीमा गएकाहरूबाट देशको वार्षिक बजेट भन्दा धेरै रेमिटान्स नआउन भए,यी नेताहरूले देश नै बेचेर हिडी सक्थे। विदेशी मुद्रामा देशभित्र भित्रिने रेमिटान्समा अहिले मिलेर रजाई गरि रहेका छन ।
सत्तामा बारम्बार आरोहरण गरिरहेका दल र ती दलका नेताहरूले नेपाली जनतालाई अहिले सम्म पनि विश्वास दिन सकेका छैनन् कि देशले फड्को कति वर्षभित्र मार्छ ? पटक पटकको आन्दोलनले पक्कै पनि देश र हाम्रो भविष्य सुनिश्चित गर्छ भनेर युवाहरूले नपर्खेका पनि होईनन। अब कति कुर्ने र कति यिनका थोत्रा भाषणमा विश्वास गर्ने भनेर नै युवाहरु आजित भएर देशमा नबस्ने निधोमा पुगेर नै होला धमाधम विदेशतिर लागेका छन्।
योजना विना चलेको देश भन्दा फरक नपर्ला। हो देशमा योजना आयोग छ तर योजना आयोग मात्र आफ्ना कार्यकर्ता भर्ति केन्द्र भएको छ। तर पनि केही न केही योजना आयोगले दिएको योजना अनुसार मात्र देशलाई अघि बढाएको भए केहि भए पनि देशको विकास हुने थियो या देखिन्थियो। नेताहरुको न कुनै आफ्नो योजना छ,न कुनै विद्वानले दिएको राम्रो योजनालाई अध्ययन गरेर अगाडी बढाउछन्।
यिनीहरूका कुनै पनि कुराको विश्वास नेपाली जनताले गर्न छाडी सके।अहिलेको ताजा घटना नै हेरौ न,ईजराईलमा हमासको आक्रमणबाट मृत्युु भएका १० जनाको सम्मानका लागि शोक प्रस्ताव पास गर्ने तर सोही दिन देशका प्रम भने दियो जलाएर कार्यक्रम उद्धघाटनमा व्यस्त हुने,साथ साथै अन्य सरकारी कार्य र बैठक गर्ने। शोकप्रस्ताव जनतालाई देखाउने नाटक मंचन मात्र देखियो । जबकि शोक मनाउने दिनमा कुनै पनि कार्य नगरी दु:ख व्यक्त गरिन्छ ।
अहिले सम्म पनि अब देशको नयाँ रणनीति र कार्यनिति के हुन्छ भन्ने कुरामा बहस र छलफल भएको देखिदैन।बरू उल्टै बुद्धिजीवीको कुरा सुनेर वाक्क लाग्यो भन्न थाली सके सरकार संचालकहरूले।अन्य देशमा बुद्धिजीवीहरूको सुझाव- सल्लाहमा देशलाई कसरी र कुन दिशामा लैजाने भन्ने छलफल र बहस हुन्छ। हाम्रो देशमा भने बुद्धिजीवीको सुझावसल्लाह लिने कुरा त कता हो कता,सुन्दापनि वाक्क लाग्न थालेपछि कसरी देशले फड्को मार्छ ?
देशभित्र श्रम गर्ने वातावरण बनाउनु पर्ने सरकारले निरन्तर अन्य देशसंग श्रम समझौता गर्दै नेपाली युवाहरूलाई सकेसम्म विदेश पठाउन लागी रहेको छ। त्यहीपनि विदेशमा अपठ्यारो पर्दाको घडीमा उद्दार र सहयोग गर्न सक्दैन आफ्ना जनतालाई नेपाल सरकारले ।
२०६३ सालमा जोर्डन हुँदै इराक पुगेका १२ जना नेपाली युवाहरूको अपरहण परेपछि भिडियो मार्फत आफ्नो जीवन बचाउन आग्रह गरेका थिए,तर तत्कालीन नेपाल सरकारले केही गर्न सकेन र उनीहरूको बिभत्स हत्या भयो। देशमा नारा,जुलुस र तोडफोड भयो ।पछि सरकारले इराक जान प्रतिबन्ध लगाएर,आजसम्म कानमा तेल हालेर बसेको छ ।अहिले ईजराईल र हमासको द्वन्दका कारण ईजराईलमा भएका आफ्ना नागरिकलाई उद्धार गर्न कुटनितिक पहल गर्न नसकेको प्रष्ट देखिन्छ।
किनकि सरकारमा बारम्बार असफल नेता बसिरहदा देश र जनताले आवश्यक परेको बेलामा सास्ति भोग्नु पर्ने हुन्छ। यदि सफल नेता र दल भएको भए आज द्वन्दमा फसेका आफ्ना जनतालाई कुटनितिक पहल मार्फत भारत या अन्य देशमा या ईजराईल सरकार कै पहलमा त्यहीको हजाईजहाज चार्टर गरेर नेपाल ल्याउन सकिन्थियो। तर नाटक पनि कस्तो दुईवटा जहाज चार्टर गरेर राखेको कुरा बारम्बार मिडियालाई जानकारी गराएर बसी रह्यो सरकार ! अहिले तिनदिन पछि सरकारको मंत्री नै जहाज लिएर गएका छन्। सरकार र त्यहाँको दुतावासले गर्ने कुनितिक पहलमा कहीं न कहीं कमि झल्किन्छ !
यस्ता घटना सरकार र नेपाली जनताले पटक पटक भोगी रहेको हुदा अब कुनै देशसंग श्रम सम्झौता होईन कि नेपालको विकास हुने कुरामा सम्झौता हुनु पर्दछ। अहिलेसम्म श्रम समझौता गरिएका देशहरू तपशिल बमोजिम रहेको भएता पनि अब सौ पटक सोचेर मात्र देश र जनतालाई फाईदा हुने गरि समझौता गर्नु पर्छ ।
१. कतार – 2005 २.यूएई – 2007/2019 ३.कोरिया -2007 ४.बहराईन – 2008 ५.जापान -2011/2019 ६.ईजरायल -2015 ७.जोर्डन -2017 ८.मलेशिया -2018 ९.मोरिसस -2019 १०.बेलायत(नर्स) – 2022 ११.रोमानिया -2023 १२.जर्मनी -2023
यस बाहेकका देशहरूमा पनि नेपाली युवाहरू विभिन्न माध्यमबाट पुग्ने हुदा नेपाल सरकारको लिखतमा कही कतै नदेखिनेले पनि समस्या भएको देखिन्छ ।त्यसैले पनि पैसा नै सबै कुरा भन्दै आफ्नो ज्यानलाई जोखिम राखेर विदेशी भूमिमा जानू पनि गलत ठहरिन्छ।त्यस्तो अवस्थामा नेपाल सरकारले पनि कुनै सहयोग र उद्धार गर्न गुन्जाईस रहदैन।त्यसैले आफू रोजगारका लागि जानू अघि सही र गलत अनि वैधानिक हो वा होईन बुझ्न अति जरुरी हुन्छ ।

देश बनाउने र बिगार्ने भुमिका पनि त्यही देशको जनतामा बढी भर पर्दछ। तसर्थ अहिलेसम्म कसैको अधिनस्थ नभएको मुलुक नेपाल र नेपाली जनताले नै नेपाललाई राम्रो बनाउने हो। अब देशमा नेता र दलले केही गर्दैन भन्दै आफ्नो ज्यानलाई जोखिममा राखेर विदेश जानू अघि एकपटक फुर्सतमा बेसरी हामी सबैले सोच्ने कि ? साथसाथै देश चलाउने नेता र दलहरुले पनि राम्ररी बेलैमा देश र जनताको हितका लागी सोच र होश गरोस। अब उपरान्त कुनै पनि नेपाली जनताले देश या विदेशमा अनाहक ज्यान गुमाउनु नपरोस। नेपाली युवाहरुले स्वदेशमै काम र सम्मान पाएर आफ्ना परिवारसंग बसेर रमाइलो गर्न अब धेरै अवसरहरु प्राप्त होस्।
इजरायलमा मृत्यु भएका सबै होनहार युवाहरु प्रति भावपूर्ण श्रद्धान्जली !