आश छ भने स्वास छ,नेपाल छ भने नेपाली छ !

 यो संसारमा आफ्नो घर,गाउँ र देश नपर्ने को होला र ? सबैलाई आफ्नो घर,गाउँ र देश औधी मन पर्छ। तर अहिले आधुनिक युगमा आईपुग्दा फेरी प्राचिनकालमा झैँ मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान आउन थालेका छन्। प्राचिन युगमा प्राय: खाने कुरा र खानका लागी एक ठाउँबाट अर्को ठाउँ जाने गर्दथे। अहिले भने विभिन्न कारणहरुले गर्दा मानिसहरु आफ्नो घर र गाउँ त छाडी रहेका थिए,अब त देश नै छाड्ने थालेका छन्। 

      आधुनिक युगमा देश छाड्ने नौलो कुरा भने होइन,राजनीतिक खिचलोको कारण आफ्नो देशमा बस्न नसके पछि आफ्नो ज्यान जोगाउन देश छाडेर भाग्ने गर्दछन। हो अहिले पनि आन्तिरिक र बाहिर्य द्वन्दका कारण देश छाडी रहेका छन्। अहिले हामी भने यहाँ आफ्नो देश,हाम्रो देश नेपालको कुरा गर्न गई रहेका छौ। 

       देशमा लोकतंत्र न आउदै गोर्खा भर्तीको नाममा हजारौ युवाहरु ब्रिटिश सरकारको सेनामा भर्ति गर्न  पठाएका थिए । जुन अहिले सम्म पनि निरन्तरता नेपाल सरकारले दिई रहेको छ। आखिर किन पठाउछ त सरकारले आफ्नो नागरिकलाई विदेश ?

       सरकार भनेको जनताले तिरेको करबाट संचालन हुने हो। सरकारले आफै आम्दानी गर्ने गरि व्यापार गर्दैन। सरकारले जति सक्छ कर उठाउने हो आफ्नो जनताबाट। कर उठाए वापत जनतालाई सेवा सुविधा र सुरुक्षा दिने हो। त्यो गर्न सरकारले नीति /नियम र कानून बनाउछ। त्यो देश भित्र बसोवास गर्ने सबैले पालना गर्नु पर्दछ। 

         सरकारले बनाएको नीति/नियम र कानून सरकार संचालन गर्नेहरुले नै पालना गरेनन भने देशमा भ्रष्ट्राचार बढ्ने गर्दछ। साथै सरकारले जनताबाट उठाएको कर खर्च गरेर दिनु पर्ने शान्ति सुरुक्षा सहि ढंग ले दिन सकेन भने पहुँच नभएका जनता आफ्नो सुरुक्षाका लागी गाउँ,शहर हुदै देश छाड्ने सम्ममा पुग्ने गर्दछन। 

          आज हाम्रो देश नेपालमा भएकै यहि हो। यहाँ कानून पहुँच नभएकालाई तुरुन्त लाग्ने गर्छ भने पहुँच भएकाहरुले जे गर्दा पनि कानून नलाग्ने भए पछि किन बस्न रुचाउछ त देशमा ? आफुले तिरेको करको सही सदुप्रयोग नहुने अनि सधै सास्ती भोग्नु पर्ने र शान्ति सुरुक्षाको महसुस नहुने भए पछि आफ्नो र परिवारको ज्यान जोगाउन पनि देश छाड्ने बाध्य भई रहेका छन्। त्यसैले त नेपालीमा उखान नै छ नि – “ठुलालाई चैन,र सानालाई ऎन ”  । 

        हो देश छाड्न ,देश भित्र युद्ध र कलह हुनै पर्छ भन्ने छैन। देशमा कानून र व्यवस्था ( LAW AND ORDER) नभए पुग्छ। कानून र व्यवस्था सहि रुपले लागु नहुदा आज नेपालका हजारौ युवाहरु देश छाड्न बाध्य भएका छन्। आफ्नो भविष्य आफ्नो देशमा नदेखे पछि युवाहरु देशबाट पलायन हुदै जाने गरेका छन्। प्राय युवाहरुलाई आफ्नो देश र परिवार भन्दा पनि आफ्नो भविष्यको बढी चिन्ता हुन्छ। 

         आज  प्राविधिक रुपमा दक्ष भएका युवाहरु पलायन हुदैछन,किनकी देशमा भ्रष्टहरुको दबदबा भए पछि प्राविधिक शिक्षा प्राप्त युवाहरु किन देशमा गर्छु भनेर बसी रहन्छन त ? निर्माण कार्यमा लागेका होस् या अनुशन्धानमा लागेका होस्। अहिले चिकित्सकहरुको आन्दोलनलाई नियालेर हेरे पुग्छ। प्रष्ट छ अब यो देशमा भ्रष्ट र गुण्डाहरुको राज शुरु भई सकेको छ। अप्रत्यक्ष रुपमा तानाशाहहरुले राज्य संचालन गर्दै छन्। 

         जसले गर्दा युवाहरु देशबाट पलायन नै भएर जादैछन। यहाँ सरकार संचालन गर्नेहरुलाई कुनै चासो र वास्ता छैन। किन गरोस पनि चासो,यिनीहरुलाई झन् सजिलो हुन्छ भ्रष्टाचार गर्न र मनपरी गरेर राज्य संचालन गर्न। जुन देशमा उर्जाशील युवाहरु हुदैनन , त्यो देशका शासकलाई झन सजिलो हुन्छ मनपरी गरेर राज्य चलाउछ। आज नेपालमा देखिएको दृश्य नै यहि हो। 

          आज नेपालीलाई नेपाल भन्दा प्यारो अन्य देश लाग्न थालेको छ। तर नेपाललाई समृद्धि बनाउछु भन्ने राजनैतिक पार्टी र ति पार्टीका नेताहरुलाई आफ्नो जनता प्यारो लागेको देखिदैन। बरु जसरी हुन्छ नेपाली जनतालाई धमाधम विदेशीलाई बेच्न आतुर देखिन्छ र बेची पनि रहेका छन्। 

       देश विकास गर्न देशमा उत्पादन भएको वस्तु बेचेर धन आर्जन गर्ने हो,तर नेपाली नेताहरुले आफ्नो जनतालाई बेचेर धन आर्जनमा निरन्तर लागी रहेका छन्। कच्चा पदार्थलाई पकाएर वस्तु उत्पादन गर्न  भन्दा जनताको दिमाग पकाउन सजिलो भए पछि यिनलाई किन चाहियो देशमा उधोग धन्दा  र व्यवसाय ?

        सरकारले संचालन गरेका उधोगहरु बन्द गराएर कौडीको भाउमा बेचेर सकी सके,अब जनताले संचालन गरेका उधोगहरुलाई पनि अनेक नियम कानून बनाएर उधोगीहरुलाई अल्झाएर उधोगधन्दाबाट पलायन गराउदै छन्। त्यसैले त आज उधोगीहरुले पनि समान उत्पादन गर्ने कारखाना भन्दा मान्छे बेच्ने कारखाना हामीले पनि खोल्छौ भन्दै वर्तमान सरकारलाई सुनाउदै छन्।  

          यदि साच्चै हेर्ने हो भने बिगत लामो समय देखि नेपाललाई विकसित राष्ट्रतिर अग्रसर गराउन २५ वटा मंत्रालय संचालनमा छन्। तर लगभग सबै मंत्रालय निष्क्रिय देखिन्छ। आजसम्म पनि  हामी नेपाली जनताले हाम्रो देशको कुन मंत्रालयले देश विकास र जनताका लागी के गरि रहेको छ भन्नेमा हामी सबै अन्योलमा छौ।  

         कुनै पनि मंत्रालयको मातहतमा रहेको कार्यालयले जनतालाई सहज र छिटो हुने कार्य गरेको पाइदैन। तपाई गृहको कुरा गर्नु हुन्छ भने चिकित्सकहरु पिटाई खाई रहेका छन र बलात्कारी समाउन सकेका छैनन्,कृषिले किसानलाई समयमा मल उपलब्ध गराउन सक्दैन, भौतिक तथा यातायातले सडक,पुल र स्मार्ट लाईसेन्स समयमा निर्माण गर्छ न दिन्छ ,उधोगले उधोग बन्द हुदा पनि कानमा तेल हालेर बसेको छ ,अर्थले बैंकको मनपरीमा साथ दिन्छ,र विकास खर्च समयमा निकासा गर्दैन,शिक्षाले आफ्नै शिक्षकको कुरा मिलाउन सक्दैन,विज्ञानले कुनै अनुशन्धान गर्नमा चासो दिदैन,सामाजिकले अहिले समाज छिन्नभिन्न हुदैछ कुनै सरोकार राख्दैन, महिलाले महिलाको अधिकार दिनदहाडै खोसी रहदा वाल्ल परेर हेरेर बस्छ,श्रमले श्रमिक लुतिरह्दा थाहा नभए झैँ हेरेर बस्छ,बनले बन फाड्न व्यस्त छ,वातावरणले वातावरण जोगाउन होइन प्रदुषण भएको थाहा पाउदैन। 

         यी त उदाहरण मात्र हुन् ,तपाई आफै सबै मंत्रालयले आफ्नो अधिकार क्षेत्रमा बसेर काम नगरी दिदा दैनिक जसो कतै न कतैबाट सास्ती भोगी रहनु भएको छ। आज तपाइको सन्तान विदेश जान लाग्दा समयमा पासपोर्ट बन्दैन। तपाइको छोरा छोरी स्कुलमा मात्र होइन विश्वविद्यालयमा नियमित पढ्न पाउदैन। आज तपाइले सरकारको नियम अनुसार गरेको स्वास्थ्य बिमा रकम समयमा भुग्तानी हुदैन। 

        अनि किन बस्छन त युवाहरु नेपालमा ? आज युवाहरु पलायन भयो  भनेर  समाचारमा हेर्ने बाहेक कुनै निकायले यसबारे बहस र छलफल गरेको छ ? छैन ! किन गर्छ त बहस र छलफल ? किनकी यहाँका ठुला भनाउदाहरु कै छोराछोरीहरु पहिल्यै विदेशमा व्यवस्थित भई सकेका छन्। 

         आज आएर मध्यम वर्गका सन्तान विदेश जान लाग्दा बल्ल सबैको आँखा खुलेको जस्तो भएको हो। किन कि तिनीहरु नै थिए यिनहरुका असली कार्यकर्ता। अब आफ्ना कार्यकर्ता जान लाग्दा छोटे राजाहरुलाई केही पिर लगेको जस्तो भएको मात्र हो। किन कि विपन्न वर्गका सन्तानहरु त यिनले पहिल्यै नै खाडी मुलुक पठाई सके। 

           देशमा रोजगारी सिर्जना गर्ने कुनै योजना आउदैन,न कुनै राजनैतिक पार्टीले बहस र छलफल नै गर्छ। यहाँ सबैलाई आफ्नो कुर्सी को चिन्ता छ ,त्यसैले नेपालका धेरै नेताहरु जिन्दगीभर आफ्नो पद र कुर्सी बचाउनमा समय खेर फालेरै स्वर्गलोकमा पुगेका छन्। उनले सिकाएका उनका चेलाहरुले पनि त्यही गोरेटोमा हिडी रहेका छन्। 

           यसो भनि रहदा हामी निराश पनि हुनु हुदैन। सबै गुमाए पनि हामीले “आश” गुमाउनु हुदैन। सबैले आश राखे ,जिन्दगीमा अवस्य पास  भईन्छ। अहिलॆ पनि विदेश जानेलाई जान दिऊ ,किनकी सबैलाई आफ्नो भविष्य  उज्ज्वल पार्नु छ। अहिले सम्म नेपाल बिगार्ने पनी नेपालीले नै हो।त्यसैले अब नेपाल नछाड्नेहरुले देश निर्माणमा आ-आफ्नो ढंगबाट लागौ। आखिर हाम्रो देश नेपाल,नेपालीले नै बनाउने हो। 

           राष्ट्रिय गीतलाई मनन गर्दै अघि बढौ –

spot_img
spot_img