खै ! सुन्दर र शान्त नेपाल  ?

नेपालमा विभिन्न षड्यन्त्र र आन्दोलन पार गर्दै  २०७२ असोज ३ गते नेपालमा सातौ नयाँ संविधान जारी भयो। त्यस भन्दा अघि नेपाली जनताले २००४ ,२००७,२०१५,२०१९,२०४७ र २०६३ सालमा छ वटा संविधान प्राप्त गरेका थिए। आफ्नो हकाधिकार सुनिश्चित भएको विश्वास गर्दै ति जारी भएका संविधानहरुलाई स्वीकार गरेका पनि थिए। केही नेता र दलहरुले जारी भएका ति संविधानहरुमा केही असहमती जाहेर गरी रहे,पछि संविधान स्वीकार गर्ने र अस्विकार गर्नेहरु नै मिलेर ठुलो जनआन्दोलन गरेर २०७२ सालमा बडो सकसका साथ नयाँ संविधान -२०७२ जारी भएको थियो। अहिलेको नयाँ संविधानमा पनि असहमति राखनेहरु धेरै छन्। भविष्यमा संविधान संशोधन या पुर्नलेखन हुन्छ त्यो भने समयले नै हामीलाई जानकारी दिनेछ। 

              यहाँ मैले संविधानको भन्दा पनि देश हाक्नेहरुको नालीबेली अहिले जुन रुपले बाहिर आई रहेको छ। विभिन्न कारणले भएका तिनका पर्दाफास नेपाली जनताले थाहा पाउदै गएका छन्। त्यो भने नेपाल र नेपाली जनताका लागी ठुलो घात भन्दा फरक नपर्ला। तर पनि अचम्म ति नेताका कार्यकर्ताहरुले थाहा नपाए झैँ बुझ पचाएर बसीरहेको देख्दा देशको भविष्य अझ जटिल अवस्था तिर उन्मुख भई रहेको देखिन्छ। 

           नेपालमा संविधान फेर्न जति सजिलो रहेछ। नेताहरुलाई फेर्न या तह लगाउन त्यति सजिलो रहेनछ। नेपालमा सजिलै गरी सात पटक नयाँ संविधान बनाउन सक्ने हैसियत नेपाली जनताले राख्दछ तर यी भ्रष्ट नेताहरुलाई तह लगाउने हैसियत किन राख्न सक्दैन नेपाली जनताले ? 

          कारण स्पष्ट छ नेपाली जनता उदारमन र छिट्टै क्षमा अनि भुल्न सक्ने क्षमता राख्दछ। जसको कारण नेताहरुले पटक पटक नेपाली जनताको सोझोपनको फाइदा लिई रहेका छन्। जति धोखा दिए पनि नेपाली जनताले यी भ्रष्ट नेताहरुलाई माया दि रहेकै छ्न। सुध्रेला भन्दै सुधार गर्ने अवसर दि रहेका छन्। तर यिनीहरु मरेर जालान् ,”सुध्रिने” भन्ने शब्द यिनीहरुको शब्दकोशमा नै रहेनछ। 

        नेपाली जनतालाई रिस उठ्दैन,कथनकदाचित रिस उठी हाल्यो भने पनि बोल्दै बोल्दैनन। बरु चुप लागेर एकातिर लाग्छन। अहिले देशमा भएकै यही हो। दैनिक युवाहरु देश छाडेर विदेश पलायन हुनुको कारण पनि यही हो। नेपालमा हुने हरेक निर्वाचनमा सबै भन्दा बढी परिचालन हुने युवाहरु नै हुन्। किनकी युवाहरुले आफ्नो भविष्य सपनामा देखिरहेका हुन्छन,तिनीहरुले नेताहरुको मिठो भाषणमा हुने झुठा  आश्वाशनमा आफ्नो सपना पुरा हुने कल्पना गर्छन।  

       ति युवाहरुले जुन सपना देखेर यी नेताहरुलाई साथ र सहयोग गरी रहेका थिए। त्यो सपना आजसम्म कुनै पनि पुरा नभएको देखेपछि आफ्नो अमुल्य युवा अवस्था खेर फाल्नु भन्दा विदेश लागे बेश हुन्छ भन्दै दैनिक हजारौ युवाहरु देशबाट पलायन हुदै छन्। 

        देशमा रोजगारीको सिर्जना गर्नु पर्छ भन्ने सोच भन्दा विदेशमा रोजगारीका लागी  युवाहरु पठाउनु पर्छ भन्ने मानसिकता भएका हरुले देश निरन्तर हाकी रहेका छन। जसको कारण देश निरन्तर ओरालो  तर्फ अग्रसर भईरहेको छ। 

         कृषि प्रधान देश भन्न छाडेका छैनन् तर कृषिका लागी कृषकलाई उपलब्ध गराउनु पर्ने सामग्रीहरु सहजरुपले बजारमा पाईदैन। कृषकले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन र मूल्यको पनि अनदेखा गरि दिन्छन। कृषकलाई दिने अनुदान पनि नेता र तिनका आसेपासेहरुले मौज गरिका छन्। निर्वाध रुपले अन्य देशको खाद्धन्य भन्सार छलेर नेपाल भित्रिदा पनि कमिसनको लोभले चुप बसेर हेरी रहन्छन। 

      हिजो युवाहरुलाई साउदी,मलेसिया,भारत र कोरिया पठाउथे। केही वर्ष काम गरेर पैसा कमाएर नेपाल फर्किन्थे। तर हिजो आज पढ्नका लागी भन्दै विदेशिने युवाहरु नेपाल नफर्किने गरी गएका छन्। आजसम्म देश रेमिटान्सले चलेको हामी सबैलाई थाहा नै छ ,अब त्यही रेमिटान्स पनि नेपाल नभित्रिने निश्चित हुदैछ। 

          बेथिति एउटा क्षेत्रमा मात्र कहाँ हो र राज्यले संचालन गरेको हरेक निकायमा बेथितिले हद नाघी सके पछि केही गर्छु देशका लागी भन्ने उर्जाशील युवाहरु निराश नहुने त कुरै भएन। तर पनि केही सुधारको लक्षण देखिन्छ भन्ने आश नगरेका पनि होइनन युवाहरुले। 

        सुधार होला र गर्लान भन्दा त झन् झन् देशमा हरेक दिन नयाँ नयाँ काण्डको पर्दाफास हुदै गए पछि युवाहरुको आश आफै मर्न थाल्यो। देशमा कुनै पनि कोणबाट बस्ने र केही गर्ने वातावारण नै बनाउन सकेनन। पटक पटक आफ्नो स्वार्थमा सरकार परिवर्तन गर्ने ,अनि देश र जनताका लागी केही काम नगर्ने। संघीय लोकतांत्रिक गणतंत्रको नयाँ संविधान बनेको पनि आठ वर्ष भई सक्यो,अहिले सम्म कतिपय कानून बनाउन सकेका छैनन्। तर आफ्नो स्वार्थ अनुसारको नीति बनाउदै आफुलाई बलियो र जनतालाई कम्जोर बनाई रहेका छन्। 

          न विश्वविद्यालय निरन्तर चल्न दिन्छ,न कुनै उधोग संचालन गर्न सहज गरि दिन्छन, स्वदेशमै रोजगारी गर्छु भन्दा पनि चालक अनुमतिपत्र न समय दिन्छ,आफ्नै लगानीमा कृषि गरेर उत्पादन गरेको वस्तुको न मूल्य पाउछ, न निर्यात गर्ने अवसर ? कमाउन त दिएनन,कम से कम न्याय त समयमा दिनु। त्यो पनि दिन सकेका छैनन्। हजारौ जनताका मुद्धा अदालतमा समय पर्खेर बसी रहेको छ। 

          यी भ्रष्ट नेताहरुले आर्थिक भ्रष्टाचार गर्न नीतिगत भ्रष्टाचार सत्तामा बसेर दिनहुँ गरी रहेका छन्। चाहे त्यो संघीय सरकारमा होस् या प्रदेश र स्थानीय। सर्वसाधारण जनतालाई लागेको मुद्धा अदालतमा समय पर्खेर बस्नु पर्छ,तर यिनीहरुलाई लागेको आफु अनुकुल निर्णय गराउ छन् ।

        देशमा यिनले गरेका भ्रष्टाचारको कहानी पढेर सकिदैन,बरु दिनहुँ नयाँ नयाँ थपि रहेका छन्। देश विकासका लागी होइन यिनीहरु,यदि देश र जनताका लागी राजनीति गरेका भए ,आज देश सम्पन्न राष्ट्रको रुपमा विश्वमा नभए पनि एशियामा अग्रपंक्ति हुने थियो। युवा विहिन देश बनाउने भूमिका खेल्ने नेताहरुले  देशलाई छिट्टै नै दुर्घटना गराउने बिन्दुमा पुर्याउने निश्चित छ।  

        अहिले हेरौ न देशका नेताहरुका पारिवारिक दृश्य ,जुन नेताका सन्तान नेपालमा छन्। तिनीहरु देशलाई खोक्रो बनाउने काण्डमा मुछिएका छन्। जसका यहाँ छैनन् युरोपका देशहरुमा मज्जा गरि रहेका छन्।  त्यस्ता नेताले के देशलाई पक्कै सेवा गरी रहेका छन् त ? अवश्य छैनन् ! देशले सम्मान गर्ने ठुला नेता मर्दा तीनचार दिन कुर्नु पर्छ नेपाली जनताले। कुरा स्पष्ट छ ,अहिले सम्म नेताहरुले आफ्नो स्वार्थका लागी राजनीति गरी रहेका छन्। जसले गर्दा देश विकास भन्दा लगातार विनास तिर अघि बढी रहेको छ। 

       कोभिद -१९ पछि देशको आर्थिक अवस्था दिन प्रति दिन नाजुक हुदै जादा पनि ,यिनीलाई कुनै चासो र मतलब छैन। उधोग धन्दा लगातार बन्द हुदै जानु र उर्जाशील युवाहरु देशबाट नै पलायन हुनु यिनका लागी केही होइन जस्तो भएको छ। अझ पनि देशको आर्थिक अवस्था सुधार उन्मुख छ भन्न पछि पर्दैनन्। 

       हिजो सबै नेपालीले भन्ने गरेको “सुन्दर,शान्त नेपाल” आज न सुन्दर छ,न शान्त नै। 

           सुन्दर हुने बन जति नाश गरि सके,पहाड र नदि खनेर सके,

          शान्त भनेका जनता ,

         त्यहि जनतालाई देशभित्र १३ लाख सुकुम्बासी बनाई सके। 

         सुन्दर देशका युवाहरु हुन् ,युवाहरु जति विदेश लखेटी सके।

          न सुन्दर, न शान्त  नेपाली जनतासंग यी दुवै लुटी सके। 

      अब योग्यता भएका युवाहरु जति देशबाट पलायन भए पछि,भविष्यमा देश कस्ता युवाहरुले हाक्ने होला कल्पना गर्नुस त एकपटक ? राजनीति त अहिले सम्म नपढेका हरुले नै गरी रहेका छन्। यदि नपढेकाहरु नै अधिकृत हुन् थाले भने के हुन्छ देशको हालात ?

  भ्रष्टाचारले सिमा नाघ्ने छ । योग्य भनाउदाहरूले संचालन गरेका निकायमा बिना घुस केही काम हुदैन जनताको । अयोग्य गरीको जमात बढे सरकारी निकायमा के हुन्छ देेशको ?

      अब देशमा रहने नेपाली जनताले नराम्रोमा राम्रो खोज्नु पर्ने बेला आई सकेको छ । आशा गरौ राम्रा जति अहिले विदेश गए पनि अवश्य कुनै दिन आफ्नो देश सम्झेर फर्किने छन । त्यति खेर पुन: “सुन्दर र शान्त नेपाल” हामी सबैले प्राप्त गर्ने छौ ।

spot_img
spot_img