संसारमा सबैले आ-आफ्नो जीवन एक अर्कालाई हेरेर बिताउने चाहना पालेका हुन्छन र त्यसैगरी जीवनको गेरोटोमा अघि बढी रहेका हुन्छन। साथै सबैको आ-आफ्नो तरिकाको लक्ष्य र उदेश्य पनि रहेको हुन्छ। ति आफुले तय गरेका लक्ष्य र उदेश्य प्राप्त गर्न रातदिन आ-आफनो सोच-विचारले कार्य गरेका हुन्छन।
आफ्नो लक्ष्य र उदेश्य प्राप्त गरेकाहरु जितेका महसुस गर्छन भने आफ्नो लक्ष्य प्राप्त गर्न नसक्नेहरु आफु हारेका महसुस गर्छन। संसारको यही जित र हारको मझधारमा मानिसहरु बाची रहेका छन्। जित्नेहरुमा घमण्ड उत्पन्न हुन्छ भने हार्नेहरुमा निराशा पैदा हुन्छ। फेरी पनि मानिसहरु घमण्ड र निराशापनको दोसाँधमा संघर्ष गरी रहेका छन्।

एकातिर घमण्डले भरिएका मानिसहरु हुन्छन भने अर्कातिर असफलता हात लागेका निराश मानिसहरु। तर संसार त्यसरी मात्र चलेको हुदैन। हरेक मानिसमा जिम्मेवारी हुन्छ। जुन मानिसलाई जिम्मेवारी बोध हुदैन ती मानिसहरु समाजका लागी घातक प्राणीहरु हुन्।
जसमा सफलताको घमण्ड छ तर जिम्मेवारी महसुस गर्दैन भने उसको सफलता उसको लागी मात्र हुन्छ। उनको सफलता उ मा मात्र सिमित रहन्छ। त्यो सफलताले उसको न परिवारलाई,न समाजलाई कुनै पनि योगदान दिन सक्दैन। उसलाई थाहा हुदैन तर उसले नकारात्मक संदेश मात्र दि रहेको हुन्छ।
त्यसैगरी असफल भएका मानिसहरु,जसले आफु हारेको ठान्छ ,उसलाई पनि जिम्मेवारी बोध हुनु पर्दछ। जिम्मेवारी बोध विनाको मानिस समाज र परिवार प्रति आफ्नो कर्तब्य निर्वाह गर्न सक्दैन। कर्तब्य विहिन मानिसले समाज बनाउने भन्दा बिगार्ने भूमिका खेली रहेको हुन्छ।
सफल हुने मानिसहरुले आफ्नो घमण्ड प्रदर्शन गरी रहनाले समाज एकाकीपनमा विकास हुदै जान्छ। किनकी जसले जित्छ,उसले जे गरे पनि हुन्छ भन्ने मानसिकता समाज र परिवारमा बढेर जाने गर्दछ। जसको कारण जसरी पनि जित्नु पर्दछ भन्ने दौडमा एकार्कालाई लडाएर भए पनि जित्ने प्रयाश शुरु हुन्छ।
त्यस्ता मानिसका लागी परिवार र समाज गौण कुरा हुन् जान्छ। किनकी उसले जहिले पनि आफ्नो मेहनतले सफल भएको घमण्ड जागेको हुन्छ। सफल यो संसारमा कोही पनि एक्लै कहिल्यै हुन् सक्दैन भन्ने सिद्धान्त उसले बिर्सेको हुन्छ। यो संसारमा हरेकको सम्बन्ध कसै न कसैसंग गासिएको हुन्छ। तर मानिसले यो संसारमा आफु जस्तो बुद्धीमानी अरु कोही छैन ठान्छन।
प्रत्यक्ष अप्रत्यक्ष एक अर्कासंग सम्बन्ध गासिएको अवश्य हुन्छ। बस ! कसले कती बुझ्छ त्यो सम्बन्ध भन्ने मात्र हो। यदि उसले सम्बन्ध राम्ररी बुझे ,संसार रमाइलो लाग्छ,नबुझे संसार उसलाई दिक्दार मात्र लाग्छ। तर पनि मानिस न हो ,उ भित्र उसले नै नबुझ्ने घमण्डको किटाणु पालि राखेको हुन्छ। जब उ सफल हुन्छ त्यो घमण्डको किटाणुको आदेशमा आफुलाई प्रदर्शित गर्छ,अनि त्यही घमण्डका किटाणुहरुले जब उभित्रको मानवतालाई मार्न थाल्छ। यतिखेर उसको उचाई भासिदै जान्छ। एकैचोटी भुईमा खस्दा मात्र उसलाई होश आउछ।
जस्तै हिऊ पग्लेर जब पानी नदी बनेर बग्न थाल्छ,नदीले आफु जस्तो ठुलो र शक्तिशाली कोही छैन भन्दै विनास गर्दै बग्दछ। तर उसलाई थाहा हुदा हुदै पनि आफुसंग बग्ने बालुवा,माटो,साना ढुङ्गाहरुलाई वास्ता नै गर्दैन,साथै ठुल-ठुला चट्टानहरुलाई पेल्दै अघि बढ्छ। जबकी उसलाई त्यही चट्टानहरुले एउटा दिशामा निरन्तर बग्न मदद गरि रहेको हुन्छ। नदीले कसैलाई नटेरी बग्दै जाँदा ,जब समुन्द्रमा मिसिन पुग्छ,बल्ल उसलाई होश आउछ मभन्दा ठुलो पनि यो संसार हुदो रहेछ भन्ने। अनि मात्र उ सानो बालक झैँ बर्षौ चुप लागेर समुन्द्रमा समाहित हुदै बस्न बाध्य हुन्छ।
त्यसैले सफल भएकाहरु आफ्नो परिवार र समाज प्रति सधैँ जिम्मेवार हुनु पर्दछ। यदि उ जिम्मेवार हुदैन भने उ धेरै दिन सम्म सफल भएर बस्न पाउदैन। उनलाई सफल बनाउने हात र साथ हरुले सहयोग गर्न अवश्य छाड्ने छन्।
यता हार्नेहरुको कथा झन् गहकिलो हुने गर्दछ। हुन् त समाजमा भन्ने गरिन्छ हार्नेहरु बढी रुन्छन भनेर,तर त्यसो होइन। किनकी हार्नेहरुले एकपटक हारी सकेपछि उसले सोच्दछ,अब यो भन्दा तल झर्ने ठाउँ नै छैन। हो पनि ! हार्ने ले यो पनि सोच्नु पर्दछ कि यो भन्दा तल झर्ने ठाउँ छैन भने माथि चढ्ने ठाउँ जति पनि छ भनेर।
त्यसैले हार्नेहरुले पनि आफुमा सधै परिवार र समाज प्रतिको जिम्मेवारी बोध हुनु पर्दछ। यदि उसले जिम्मेवारी बोध सधै गरी रहे उ सफलता तिर अग्रसर अवश्य हुन सक्दछ।अन्तत : उसको पनि जित एकदिन अवश्य हुनेछ।
संसार चक्र अनुसार घुमी रहेको हुन्छ। तर मानिसहरु सधै भ्रममा बाची रहेको हुन्छ। प्राय: मानिसलाई मानिसकै मन मस्तिष्कले छल गरिरहेको हुन्छ। अनि आफैले आफैलाई ढाटी रहेको हुन्छ। कतिपय समयमा सबैथोक थाहा भएर पनि थाहा नभए झैँ गरि दिदा मानिस मानिसकै समाजबाट बाहिरिन पुग्दछ। हो आफुलाई ढाट्ने मानिसले समाज र परिवारलाई पनि ढाटी रहेको हुन्छ।

अहिले यहि कारणले मानिस मानिस बीच विश्वास हटेको छ। त्यो विश्वास हट्नुको मुख्य कारण आफु मात्र अघि बढ्ने चाहना र आफु एउटा सफल मानिस हु भनेर धाक देखाउने लालसा। जसको कारण समाज डरलाग्दो अराजकता तिर उन्मुख हुदैछ। यहाँ अराजकताको अर्थ खोज्न र बुझ्न चाहने भन्दा प्रशय दिनेहरुको जमात बढी देखिन्छ।
परिवार परिवार रहन दिएनन् ,समाज समाज मिलेर बस्न दिदैनन। कुनै पनि घटेको घटनालाई सबैले आ-आफ्नो तरिकाबाट विश्लेष्ण गरि दिदा ,समाज र परिवारमा हुनु पर्ने एकता,सदभाव ,माया एकाएक हटेर जादैछ। परिवारमा ठुलालाई सम्मान र समाजमा सबैलाई समान हुनु पर्ने आज हराएर गई रहेको छ।
हो ! परिवर्तन सबैले चाहन्छन तर आफ्नोपन विर्सेर खोजेको परिवर्तनले अन्ततोगत्वा समाज वा परिवारलाई विनास तिर नै उन्मुख निश्चित गराउछ। हुन् त विनास कसैले चाहदैन तर अहिलेको हाम्रो समाज व्यक्तिवादी चिन्तनको कारण दिनदिनै विनासतिर लम्की रहेको छ।
मानिस मानिससंग मात्र होइन प्रकृतिसंग पनि पैठेजोरी गर्न खोज्छ,जसको कारण प्रकृतिले बेला बेलामा आफ्नो ताकत प्रदर्शन गरी दिदा बल्ल झस्किन्छ। त्यतिखेर मानिसले आफ्नो भुल सम्झेर देविदेउता सम्झेर केही सुध्रिन खोजे जस्तो गर्छ,फेरी उही तालमा फर्किन्छ।
त्यसैले त मानिसले आफ्नो पाएको जीवन पनि खुलेर बाच्न सकेको छैन ,अल्पआयुमा मृत्युवरण गरि रहेका छन्। यो धर्तीमा सबैको आ-आफ्नो जिम्मेवारी रहेको छ। यदि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने क्षति स्वत: कम हुदै जानेछ।
धर्तीमा रहेका हरेक वस्तु र जीवहरुको एकार्कासंग एकप्रकारको सम्बन्ध गासिएको हुन्छ । जसले जसको सम्बन्ध विच्छेद गर्न खोज्छ,यो धर्तीबाट उसको विनास निश्चित छ। जबसम्म यो धर्तीमा एकले अर्कालाई समान र सम्मान गर्दैन तबसम्म सबैतिर खतराको सुई बढी रहेको हुन्छ।
त्यसले जित्ने या सफल हुनेहरुको लडाई माँझ हार्नेहरु सधै कम्जोर भई रहेका छन्। जसको कारण जित र हारको खेल मैदान निरन्तर भरिभराऊ रहन्छ। तर यो पनि सत्य हो ,एक पटक जित्ने ,अर्को पटक अवश्य हार्छ। यो प्राकृतिक नियम नै हो। तर पनि जित्नेहरु खुशी भई रहदा हार्नेहरु निराश भई रहन्छन।
कतिपय मानिसहरु हारेर सधै हरेस खानेहरु पनि छ्न ,हार्नेहरु मध्ये कमैले फेरी प्रायश गर्ने गर्दछन। तिनीहरुलाई थाहा छ निरन्तरको प्रयास र अभ्यासले फेरी जित्न सकिन्छ भनेर। तर पनि समाज र परिवारको गलत धारणा बारम्बार उसले तानाको रुपमा सुनी रहनछ,तब उसले आफु भित्र हिम्मत भए पनि हिम्मत र प्रायस गर्न छाडी दिन्छ।
संसारमा पटक पटकको “हार” र फेरी पटक पटकको प्रयासले “जित” हासिल गरेका धेरै उदाहरणहरु छन्। त्यसैले यो संसारमा जित र हारको द्वन्दमा मानिसले आफुलाई कहिल्यै कम्जोर खेलाडी सम्झिनु हुदैन। यो संसार न हो ,यहाँ त जित र हारको खेलमा निरन्तर द्वन्द भैरहेको हुन्छ। शायद प्रकृतिको नियम पनि यहि होला ,यदि हो भने आखिर यसको अन्त्य कहाँ हो र कसरी हो ? यस विषयको खोज अनि अनुशन्धान मानिसले नै गर्ने होला ? कि कसो ?
यो लेख पढे पछि मेरो विचारसंग तपाई कहाँ सहमत हुनु हुन्छ र कहाँ हुनु हुन्न ,अवश्य टिप्पणी गरि दिनु हुन्छ भन्ने अपेक्षा गर्दछु। साथै कुनै सुझाव पनि है। धन्यवाद !