सैनामैना कोरा विभिन्न कारणले सम्झी रहन्छन  ……… 

( SAINAMAINA KORA CYCLING CHALLENGE -2023 ) 

कोरा साईकल चुनौती २०११ (KORA CYCLING CHALLENGE -2011) बाट शुरु भएको हो। त्यतिखेर पहिलो संस्करणमा जम्मा ३५ जना राईडरहरुसंग परोपकारी कार्यका लागी कोष जुटाउन काठमाडौँ कोरा शुरु गरिएको थियो। कोरा भनेको – तीर्थयात्रा,कोरा अभ्यासकर्ताहरुले पवित्र स्थल वा वस्तु वरिपरि परिक्रमा गरेर प्रदर्शन गरिन्छ।  यो नेपाल र सम्भवतः दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम हो। कोरा भनेको घडीको दिशामा गरिएको धार्मिक स्थलको परिक्रमा हो।यो कोरा शब्द जुन प्रायः तिब्बती क्षेत्रहरूमा सम्पूर्ण तीर्थयात्रा अनुभवलाई सन्दर्भ गर्न प्रयोग गरिन्छ।

         २०११ बाट शुरु भएको कोरा साईकल चुनौती अहिले हरेक वर्ष असार महिनामा नेपाल  बाहेक विश्वको अन्य देशहरुमा आयोजनना भई रहेको छ। ५०,१०० र १५० किलोमिटरको दुरी सम्म हुने यो रेसमा हरेक उमेर समुहका राईडरहरुको सहभागिता हुने गर्दछ। स्वतस्फुर्त सहयोगी मन भएकाहरुको उपस्थिति हुने गर्दछ। रेसमा सहभागी हुने र नहुनेहरुको सहयोगबाट वर्षौंको अवधिमा यस संयन्त्रले करिब रु. 70,00,000 विभिन्न पहलहरूमा – शैक्षिक सहयोग, औषधि – प्रसूति क्लिनिकहरूको मर्मत र निर्माण, स्वास्थ्य चौकीहरू र महिलाहरूको लागि क्यान्सर परीक्षण, मानवीय (जीवन गुमाउने सवारहरूको परिवारलाई मद्दत गर्ने), महिला नेतृत्व निर्माण (महिलाहरूको लागि साहसिक खेलहरूमा लगानी मार्फत ), साइकल (निर्माण ट्रेल) आदिमा सहयोग गरि सकेको छ। 

       यस वर्षको कोरा साईकल चलेंजबाट उठेको रकम अन्तराष्ट्रिय रुपमा सहयोग गर्ने सहमति अनुसार जसरी नेपालमा २०१५ को विनासकारी भुकम्प पछी टर्की देशबाट भोलिपल्ट बिहान आएको पहिलो अन्तराष्ट्रिय उडानमा नेपाललाई सहयोग गर्ने राष्ट्र टर्की थियो,त्यसै गरि अहिले टर्कीमा  भूकम्पले क्षति गरेकोले टर्कीलाई सानो पहलबाट थोरै भएपनि सहयोग फिर्ता गर्ने जमोर्को भएको हो।  

त्यसैले यसपटकको कोरा -२०२३ “TURKEY – ABA HAMRO TURNA !” भन्ने उदेश्यका साथ सम्पन्न भएको छ। देशको धेरै जिल्लाहरुमा यस पटकको कोरा भव्यताका साथ सफलता पुर्बक सम्पन्न भएको छ। देशभर असार ३० गते गर्ने सहमति भए अनुसार कतिपय जिल्ला र शहरमा सो मितिमा विभिन्न कारणले कोरा रेस गर्न सकेनन। त्यसैले  असार ३० मा गर्न नसकेकाहरुले सावन २७ गते  सम्पन्न गरेको छ। जसमा साईकल साथी सैनामैनाले पनि सैनामैना कोरा – २०२३ सफलताका साथ सम्पन्न गरेको छ। 

साईकल साथी सैनामैनाले  देशभरका साईकिलिष्टहरुलाई निम्तो गरेर एउटा उत्कृष्ट भातृत्वको नमुना पेश गरेको छ। यसपटक सैनामैना कोरामा काठमाडौँ ,हेटौडा,गुल्मी,नेपालगंज,बुटवल,भैरहवा,तौलिहवा,बाणगंगा,पोखरा र नवलपरासीबाट करिब ३०० जना राईडरहरुको सहभागिता रहेको थियो। 

       सैनामैना कोरालाई प्रकृतिले पनि अति नै साथ र सहयोग गरेको छ। पहिलो,दोश्रो र तेश्रो पटक भनु न  तिनै पटक शुरुवातमा हल्का पानी पर्ने र दिनभरी बादल लाग्ने र फेरी झरी परी रहनाले राईडरहरुलाई शितलताको महसुस हुनुको साथै सैनामैना कोरा सम्झिरहने बाध्य परेको हुनु पर्दछ। त्यसैले हरेक वर्ष सैनामैना कोरामा राईडरहरुको सहभागिता बढ्दो क्रममा छ। 

       सैनामैना कोरामा विशेष गरेर हरेक समुहको मिलन केन्द्र पनि भएको छ ,जसमा समाजका सबै स्तर र तह र तप्काका मानिसहरुको सहभागिता रहेको हुन्छ। यसपटक साना साना नानी बाबुहरुको सहभागिता धेरै रहेको थियो। जसका अभिभावकहरुले उनिहरुको रेखदेखका लागी लगातार आफ्ना छोराछोरीको निगरानी गरिरहेका देखिन्थे। सबैले एकार्कालाई सहयोग र साथ दिरहेका थिए। 

        सैनामैनामा कोरा साईकल चलेंजका लागी हुनु पर्ने देउस्थलहरु पनि पर्याप्त मात्रामा रहेको छ। त्यति मात्र होइन,पहाड,जंगल,खोला,शहर,गाउँ,उकालो ओरालो,ग्राभेल,पक्की सबै प्रकारको सडक पनि रहेको छ।  शायद यसप्रकारको उपयुक्त ठाउँ अन्य शहर या गाउँपालिकामा छैन होला। सैनामैना कोरामा सहभागी हुने राईडरलाई पक्कै पनि यसले सधै स्मरण गराई रहेको हुनु पर्दछ।

     सैनामैना नगरवासीहरुको पनि अहम भूमिका देखियो। आफ्नो टोल,गल्लीमा राईडरहरु पुग्दा स्वागत गर्ने,घरबाहिर आगनमा उभिएर हौसला दिने ,कहाँबाट आउनु भएको भनेर सोधपुछ गर्ने,उहाँहरुले सहभागी राईडरहरुलाई स्वागतका लागी कुनै प्रकारको कमि राख्नु भएन। 

     स्थानीय संघसंस्थाहरुको भूमिका अझ अहम देखिएको थियो। उहाँहरुले साईकल साथी सैनामैनाको कार्यक्रम भन्दा पनि आफ्नो कार्यक्रम जस्तै गरी हरेक प्रकारको सहयोग र साथ दिएका थिए। स्थानिय व्यापारी,नेवा खल:,जेसिस,रोटरी क्लब,लाइन्स क्लब,होटेल तथा रेस्टुरेन्ट व्यवसायी,लालिगुरास आमा समुह,रानीकुवा समिति,मन्दिर व्यवस्थापन समिति,दानवपुर ताल समिति,थारु होमस्टे र स्थानीय सरकारका प्रतिनिधिहरुले सहभागी राईडरहरुलाइ “अथिति देवो:भव” भन्ने मान्यतालाई आत्मसात गरी स्वागत र सम्मान गरेका थिए। यसपटक नेपाल आर्मीले पनि सबै राईडरहरुको लागी कागती पानीको  व्यवस्था गरि दिएका थिए। 

    साईकल साथी सैनामैनाका अधक्ष्य गगन रानामगर र उनको टिमले कम समयमा अति राम्रो  व्यवस्थापन र सबैसंग समन्यवय गरेका थिए। कहीं कतै कसैको गुनासो रहेन जहाँसम्म। पहिलो कोरा देखि तेश्रो कोरा सम्पन्न गर्दा सम्म धेरै सुधार,समन्यवय  र प्रभावकारी भुमिका सबैले निर्वाह गरेका थिए। सबै टिमलाई साधुवाद। 

     सैनामैना नगरपालिकामा स्थानिय सरकारको भूमिका भने खासै उपलब्धि मुलक देखिएन। पहिलो देखि तेश्रो कोरा साईकल चलेंज सफलताका साथ सैनामैनामा संम्पन्न हुदासम्म सैनामैना नगरपालिका भित्रका कुनै पनि सडकमा कतै पनि साईकल लेन नबन्नु स्थानीय सरकार गफ चुट्नेमा सिमित देखिन्छ। किनकी पहिलो कोरामा प्रमुख अथिति मेयरज्युले सैनामैना नगरपालिका भविष्यमा साईकल मैत्री शहर हुनेछ भनेर आफैले घोषणा गरेका थिए। तर कतै र कुनै पनि हालतले सैनामैना नगरपालिका साईकल मैत्री शहरतिर उन्मुख भएको उपस्थित राईडरहरुले महसुस गर्न पाएनन्। 

     नेपालमा साईकल समाज निर्माण गर्न किन यति उदासीन छ सरकार ? साइकल समाज निर्माण गर्नाले देश र नेपाली जनतालाई कति सहयोग पुग्छ भन्ने हेक्का किन राख्न नसकेका हुन् सत्ता संचालकहरुले ? सरकारको उदासीनता कतै साईकल प्रयोगकर्ताको मतभिन्नता र एकजुट नभएको कारण त होइन ? 

   नेपालमा साईकल आवस्यकता अनुसार प्रयोग गरिन्छ। यातायातको साधनको रुपमा,स्वास्थ्याय लाभका लागी,रमाईलोको लागी,खेलकुदका लागी,साहसीका लागी। जसले जसरी प्रयोग गरे पनि अब नेपाल सरकारले साईकल मैत्री वातवरण बनाउन भूमिका तुरुन्त शुरु गर्नु पर्दछ। 

    नेपाल सरकारलाई झक्झकाउन नेपालमा धेरै साईकल क्लब र संस्थाहरु सक्रिय छन्। अझ दरिलो आवाज सरकार समक्ष पुर्याउन देशभरका साईकल प्रयोगकर्ताहरु र साईकल समाज निर्माण  गर्न  लागी परेका अभियन्ताहरु एकठाउँमा छिटो गोलबन्द हुनु जरुरी छ। 

    हुन् त देशभर हुने यस्ता साईकल कार्यक्रमहरुले पनि राम्रो भूमिका खेल्न सक्दछ ,तर आयोजक साइकल मैत्री समाज निर्माण गर्नमा सधै सचेत हुनु जरुरी छ। कार्यक्रममा साईकल मैत्रिसमाज निर्माण  गर्ने माहोल तैयार पार्नु पर्दछ। सबै अथिति र सहभागीहरुले स्पष्ट बुझ्न सकोस की आजको साईकल कार्यक्रममा मेरो उपस्थिति साईकल मैत्री समाज निर्माण गर्ने भूमिका बहन गर्नेछु भन्ने भान होस्।  

      नेपालमा साईकल कुदाउनेहरुको संख्या दिनप्रति दिन बढी रहेको छ। यो राम्रो पक्ष हो। तर साईकल प्रयोगकर्ताहरु एकआपसमा गोलबन्द हुन् सकेका छैनन्। त्यसका लागी सरकारले साईकल ऐन,कानुन निर्माण गर्नु पर्दछ। स्थानीय सरकारले अन्य विभिन्न कानुनहरु निर्माण गर्न सक्ने तर आफनै छोराछोरीले रातदिन साईकल प्रयोग गरि रहेका छन,आफनै छोराछोरीको सुरुक्षाका लागी साईकल कानुन बनाउन लापरवाही किन गरिरहेका छन् ? कतिपय सरकार प्रमुख साईकल कुदाएर हुर्केका या पढेका छन् तर पनि किन आवस्यकता महसुस गरेका छैनन् ?

       सैनामैना कोरा -२०२३ ले देशभरका ३०० साईकल प्रयोगकर्ताहरुलाई एकदिन एकठाउँमा एकजुट गराएको छ। जसले एकअर्कालाई सहयोग गरे कुनै पनि कार्यक्रम सफल हुन्छ भन्ने संदेश दिएको छ। त्यसको साथै भेदभाव रहित यो कोराले एउटा नयाँ संदेश पनि दिएको छ। जुन कार्यक्रममा हरेक जाती,लिङ्ग,उमेरको साथै अपांग भएकाहरुको पनि सहभागिता रहेको थियो। यो कार्यक्रमले टुर्कीलाई मात्र होइन ,नेपालीले नेपालीलाई एकजुट हुन् सहयोग गरेको छ। 

     अन्तमा साईकल साथी सैनामैनाका अध्यक्ष्य गगन रानामगर लगायत सम्पूर्ण कार्यसमिति टिम र सैनामैना नगरवासीलाई सबै नेपाल भरीका साईकल प्रयोगकर्ताहरुको तर्फबाट बधाई सहित साधुवाद !                  फेरी अर्को वर्ष भेट हुने नै छ सैनामैना साईकल मैत्री शहरमा !!!

spot_img
spot_img