प्रेमप्रसाद आचार्यको सार्वजनिक यातायातलाई प्रश्न ?

 “जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौ को night bus मा टिकट काटेर हिडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरु दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरु उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छन हौ सरकार,कस्ले सुन्ने मलाइ? सरकार तिमि सुनिदेउ!!!!” -प्रेम प्रसाद आचार्य 

       अहिले देशलाई माया गर्ने र देशमै बसेर केही गर्ने सोच भएका युवाहरुलाई बेसरी झक्झकाएको छ,प्रेम प्रसाद आचार्यको घटनाले। उनको स्टाटसमा लेखिएको आत्म वृतान्त मध्ये यो माथिको केहि हरफले यातायात व्यवसायीलाई पनि धेरै हदसम्म छोएको हुनु पर्दछ या छुनु पर्छ। 

       उनले देशमा लामो समय देखि भई रहेको बेथितिलाई उजागर गरेका छन। उनको स्टाटस अनुसार मुलुकमा कुनै यस्तो क्षेत्र रहेन जहाँ जनताले सास्ती नभोकेको। अहिले यहाँ हामी उनले उल्लेख गरे अनुसार केहीदिन अघि रात्री बसको अग्रिम टिकट काटेर यात्रा गर्दा पनि ठगिएको रहेछन। त्यही पनि उनि एउटा असल नागरिक भएका कारण महिलाले उभिएर यात्रा गर्नु पर्ने देखेर आफुले दुख झेलेर भए पनि यात्रा गर्न तैयार रहेर महिलाहरुलाई आफ्नो सिट छोडी दिएका रहेछन। 

       कुरा सिट र उनले पाएको दुख र महिला यात्रीको कुरा मात्र नभएर देशमा सार्वजनिक यातायात कसरी संचालन भई रहेको छ भन्ने स्पष्ट चित्र उनले देखाएर गएका छन्। नेपालमा सार्वजनिक यातायात सरकारले होइन निजि क्षेत्रले मात्र संचालन गरि रहेको हामी सबैलाई थाहा नै छ। सरकारले संचालन गरेको र गर्न प्रयास गरेका यातायात सबै धरापमा परेको छ र धरापमा पार्ने कार्य भै रहेको छ। 

       निजि क्षेत्रले संचालन गरेको सार्वजनिक यातायातले सरकारलाई कर नतिरेको र सिन्डिकेट गरेको सहितका विभिन्न लान्छाना लगाएर कम्पनी ऎनमा दर्ता गरेर संचालन गर्नु पर्ने नीति बनाएर घोक्रेठ्याक लगाएर आज अलपत्र पारेर राखी दिएको छ, सार्वजनिक यातायातलाई। अहिले न पूर्णरुपले कम्पनि ऎन मार्फत संचालन भएको छ, न हिजो जस्तो संघसंस्था अनुसार संचालन भएको छ। सार्वजनिक यातायातको बेथिति यहि बाट देख्न सकिन्छ। 

        सरकारको यातायात मंत्रालय बेखबर झैँ कुनै निगरानी गर्छ,न कम्पनी ऎनमा कसरी सार्वजनिक यातायात संचालन हुनु पर्छ भन्ने कुरामा स्पष्ट भएको देखिन्छ। जुन देशमा सार्वजनिक यातायात सहज,सुलभ,सुरक्षित र चुस्त संचालन भएको हुन्छ त्यो देशको सरकार र नागरिकको स्तर थाहा पाईन्छ। हो उनले आफ्नो स्टाटसमा उल्लेख गरे अनुसार सार्वजनिक यातायातको टिकट बुकिङ्गमा धेरै समस्या छ,जसको सुधारका लागी कुनै पनि निकायले ध्यान दिएको देखिदैन।  

       अहिले आफ्नो नागरिकलाई कसरी सहज,सुलभ,सुरक्षित यातायात सेवा दिन सकिन्छ भन्ने कुराको बहस,छलफल स्थानीय र प्रदेश सरकारमा जोरदार रुपले हुनु पर्ने हो,तर सरकारले आफ्नो एक कार्यकाल सकेर आर्को कार्यकालको पनि लगभग मध्ये भागमा आई सक्दा पनि सार्वजनिक यातायात सम्बन्धी कुनै बहस,छलफल या ऎन कानुन बनाउन प्रयास गरेको देखिदैन।  

         सार्वजनिक यातायातमा धेरै बेथिति रहेता पनि सरकारलाई बुझाउने पर्ने कर,शुल्क सार्वजनिक यातायात व्यवसायीहरुले समयमा बुझाउदै आएका छन्। तर पनि सार्वजनिक यातायातलाई सरकारी निकायले हेर्ने दृष्टिकोण र व्यवहार  अपराधीलाई गरे जतिकै छ। हुन् त सबै सरकारले तैयार गरेको नीति नियम अनुसार चल्नु पर्दछ। यातायात व्यवसायीले सरकारको नीतिनियम अनुसार आफ्नो दायित्व बराबर पुरा गरि रहदा सरकारले चुस्ने काम बाहेक केहि गरेको देखिदैन। 

        सार्वजनिक यातायात सरकारले संचालन नगरेता पनि सरकारले सडक समयमा मर्मत गरिदिनु पर्ने,संचालन प्रक्रिया मिलाउनु पर्ने,डिजिटल टिकट बुकिङ्ग प्रणाली लागु गर्नु पर्ने,बसपार्क र टर्मिनल सुविधा सम्पन्न व्यवस्था गर्नु पर्ने,कुन सडक अनुसार कस्तो सवारी साधन संचालन गर्ने मापदण्ड लागु गर्नु पर्ने,यस्ता धेरै कार्यहरु सरकारले गर्नु पर्ने देखिन्छ,हुन त कागजमा सरकारले गरेका होलान। तर व्यवहारमा लागु गर्ने हिम्मत देखाउनु नसक्नु पनि  सर्वसाधारण जनताले सार्वजनिक यातायातमा यात्रा गर्दा बेला बेलामा आचार्यले लेखे अनुसारको सास्ती भोग्नु परि रहेको छ। 

       सरकारले के गर्छ के गर्दैन भन्दा पनि सधै बेला बेलामा उठी रहेको प्रश्नलाई फेरी प्रेम प्रसाद आचार्यले जोरदार रुपले उठाई दिएका छन्। अब सार्वजनिक यातायात संचालकहरुले आज देखि नै यात्रुले सार्वजनिक यातायातमा कुनै प्रकारको कष्ट,सास्ती झेल्न नपरोस भनि ध्यान दिनुको साथै तदारुपताको साथमा लाग्नु पर्दछ। 

         उनले उठाएको टिकट बुकिङ्गको मात्र होइन,सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने तर्फ सबै सम्बन्धित निकायको अति ध्यान जान जरुरी रहेको छ। सार्वजनिक यातायात विना देशको विकास हुन् सक्दैन भन्नेमा कसैको दुई मत नहोला,त्यसो हो भने अब सबैले यस्ता घटनाहरु फेरी पुन नदोहोरियोस भन्नेमा हेक्का राख्नु जरुरी छ।      

           अन्तमा प्रेम प्रसाद आचार्यले उठाएको मुद्धाहरुमा सबैको ध्यान जावोस र निराकरण गर्न सिंहवालोकन सहित आत्मालोचना गर्दै अगाडी बढ्ने हिम्मत सबैमा पलाओस। 

                          “भाव पूर्ण श्रद्धान्जली प्रेम प्रसाद आचार्य प्रति !”

spot_img
spot_img