होसियार ! तपाइको “मत” को खरिदबिक्री शुरु भैसकेको छ !

 संघ र प्रदेशको निर्वाचन हुने पक्का भईरहदा जनताको मत कसरी आफ्नो पोल्टामा पार्ने भनेर दल र दलका नेताहरु गाउँ र नगर भित्र प्रवेश गरि सकेका छन्। तर आमजनता भने बेखबर आफ्नो दैनिकी कसरी गुजारा गर्नेमा व्यस्त छन्। कोभिद-१९ को माहामारी र अहिले चलिरहेको आर्थिकमन्दीका कारण धेरैको रोजगारी गुमेको छ। साथै जलवायु परिवर्तन कारण कृषिमा परेको असरले मर्कामा परेका किसानहरुको आफनै दु:ख छ। दुई महिना अघि नै नेताका कार्यकर्ता भनाउदाहरुलाई चुनाव लागि सकेको छ। 

          नयाँ संविधान लागु भएपछी स्थानीय सरकारको निर्वाचन दोस्रो पटक सम्पन्न भैसकेको छ। त्यसैगरी दोस्रो पटक मङ्सिर ४ गते संघ र प्रदेश सांसदका लागि निर्वाचन हुदैछ। अहिलेको निर्वाचनमा पनि दलगत भन्दा पनि गुटबन्दीले भाग लिने देखिन्छ। यसरी गुटबन्दी गर्नाले मतदातालाई भन्दा उम्मेदवार र दललाई बढी फाइदा हुने देखिन्छ। धेरै दलहरु मिलेर चुनावमा भाग लिदा जसको गुट बलियो हुन्छ, त्यहि उम्मेदवारले जित्ने लगभग निश्चित देखिन्छ। जसमा जनताले आफुले चाहे अनुसारको नेतालाई जिताउन सामर्थ्य राख्न सक्दैन। जसको कारण जित्ने उम्मेदवार जनताप्रति उत्तरदायी हुदैनन्। उ मात्र चुनावमा अघिपछि हिडेका कार्यकर्ताको जिम्मेवारी लिने गर्दछ। त्यसैले उनका कार्यकर्ता तपाईको घरको दैलोमा पुगिसकेका छन्। 

            अब होसियार हुनुहोस ! तपाईको “मत” को खरिदबिक्री शुरु भई सकेको छ। तर तपाईलाई थाहा नहुन सक्छ । जसरी हुन्छ,आफ्नो नेतालाई जिताउने उदेश्यका साथ उनका कार्यकर्ताहरुले विभिन्न प्रकारको खेलो तपाईको घर-आँगनमा शुरु गरि सकेको छ। पाँच वर्ष सम्म केहि नगर्नेले अब म गर्छु भन्दै नेताहरु पनि तपाईलाई नमस्कार गर्न पुगी सकेको हुनु पर्छ। तपाईको के के आवश्यकता हो, उनको कार्यकर्ताले चिर्कटो आफ्नो नेतालाई बुझाई सकेको हुनाले नेताको बोलीचाली र भाषण त्यही अनुसार तपाईको सामू हुने गर्दछ।   

               एकपटक शिलान्याश भई सकेको फेरी शिलान्याश गर्छन,उद्घाटन भई सकेको भए फेरी उद्घाटन गर्छन। यति मात्र कहाँ हो र तपाईसंग भेट गर्न कुनै नै कुनै बाहाना उनकै कार्यकर्ताले तय गरेका हुन्छन। गएको एकवर्ष देखि तपाईलाई उनको कार्यकर्ता मार्फत कुनै न कुनै प्रकारको सहयोग भएको भए मान्नुहोस,उनको कार्यकर्ताले तपाईको “मत” खरिद गरिसकेको छ। अब तपाईको “मत” नेतालाई बेच्छ। तपाईको “मत” किनेर पाईन्छ भने तपाईको दु:ख सु:खको साथी किन बन्छन र नेता ? यसरी नै चुनाव हुने दिन नजिक हुदै गर्दा आएर  नाटक मन्चन गर्छन। तपाई पनि नाटक हेरेर मजाले ताली बजाउनु हुन्छ। 

             अहिले आमजनता दल र नेताहरुका लागि ठुलो विषय रहेन। पाँच वर्षमा एक पटक लाईन लगाएर भोट हाल्ने वस्तु मात्रै हुन् भन्ने ठानेका छन्। यिनले तपाईलाई गत निर्वाचनमा बाडेका घोषणापत्र अनुसार केही गरेनन। गत निर्वाचनमा बाम बनेका आज आएर ठीक्कै विपरित धुर्वमा उभिएका छन्। घोषणापत्र अनुसार केही नगरे पनि कम से कम निर्वाचनमा जानु अघि समिक्षा र छलफल गरेर जनतालाई अपिल गर्थे ,यदि यिनले तपाईलाई जनता ठानेका भए। तर चटारो त नेताहरुलाई सिटको भागबन्डा र आफन्तलाई कसरी समानुपातिक सांसद बनाउन सकिन्छ भन्नेमा जोरबल छ। 

              के तपाईले हरेक निर्वाचनमा कसैको निर्देशनमा “मत” मात्र दिने हो ? आफ्नो अधिकार,सुविधा,सम्मान र शान्ति सुरुक्षा पनि खोज्ने हो ? चारैतिर बेथिति देखि रहदा पनि मौन भएर सिमित स्वार्थमा आफ्नो अमुल्य “मत” उहीं उम्मेदवार,उहीं दललाई दि रहने हो ? पटक पटक भएको आन्दोलन र संघर्ष पछि आमुल परिवर्तन सहितको नयाँ  नेपाल बनाई दिने झुठो सपना बाढ्ने दल र नेतालाई फेरी तपाई आफ्नो “मत” दिन उत्सुक हुनुहुन्छ ?

             हो फेरी पनि तपाई आफ्नो “मत” कसैको निर्देशन या सिमित स्वार्थमा दिदै हुनुहुन्छ भने मुलुक झन् बेथिति र अराजक स्थितिमा पुगेको हेर्न पनि तैयार हुनु होस्। जब तपाईले परिवर्तन चाहनु हुन्न भने तपाईले जिताएको नेताले फेरी किन चाहन्छ परिवर्तन ? आज घर घरमा आफ्ना छोराछोरीहरुलाई सके सम्म विदेश पठाउन चाहन्छन किनकी यहाँ कुनै रोजगारीको ग्यारेन्टी छैन। शान्ति,सुरुक्षा छैन। कसलाई कतिखेर के हुने हो कसैलाई थाहा छैन। सबैका छोराछोरी नेता या दलका कार्यकर्ता बन्न सक्दैनन्। जो कार्यकर्ता बन्न सक्दैनन तिनले यहाँ केहि प्राप्त गर्न सक्दैन भन्ने सबैको मनमा अमित छाप बसी सकेको छ। यो तपाईको मनमा पनि अवश्य हुनु पर्छ। 

              तर पनि तपाई लकिर का फकिर भने झैँ आफ्नो “मत” मङ्सिर ४ गते उहीं ठुला भाषण गर्ने तर केहि उखाल्पातो नगर्ने नेतालाई या दललाई दिन तम्तैयार भएर बसी सक्नु भएको होला। आजसम्म देशमा युवाहरुलाई रोजगारी,भ्रष्टाचार र बलात्कारीको समस्या हल गर्न कुनै चासो जानीजानी नलिने दल र ति दलका नेताहरुलाई तपाई आफ्नो “मत” फेरी दिदै हुनुहुन्छ ? अनि फरक के रह्यो त ति नेता र जनतामा ? हुन् त नेपालमा जनता नै कहाँ छ र ? सबै दलका कार्यकर्ता छन्। यदि तपाईसंग कुनै अमुक पार्टीको सदस्यता परिचयपत्र छैन भने तपाईले केही पनि प्राप्त गर्न सक्न्नु हुन्न   

              त्यसैले होसियार हुनु होस् यसपटकको निर्वाचनमा। कसैको लहलहैमा लगेर आफ्नो “मत” दान नगर्नु होस्। दानको सरल अर्थ हुन्छ – कुनै वस्तुको अधिकार हस्तान्तरण गर्ने। पाँच वर्षमा एक पटक दिने आफ्नो अमुल्य “मत” दान दिएर हाईसन्चो मान्नु भयो भने फेरी आउने पाँच वर्ष सम्म हामीले जिताएका नेता यस्ता भए,उस्ता भए,हामीलाई वास्ता गरेनन,हाम्रो काम गरेनन भन्ने गफ बाहेक तपाईसंग केही रहदैन। 

             एकपटक सिंहावलोकन किन नगर्ने,गर्नु पर्छ। हामी सबै नेपाली जनताले गर्नु पर्छ। आज कार्यकर्ता भएर सबैथोक प्राप्त गर्नु भयो होला। तर के तपाईको सन्ततिको भविष्य भोलिका दिनमा सुनिश्चित छ त ? अवश्य छैन भन्ने तपाईको मनमा हुदा हुदै पनि किन आफ्नो निर्णयमा अडिग हुन् नसक्ने नेता र दलका पछि लागिरहनु भएको छ ? यो प्रश्न गर्न पक्कै पनि आफैले आफुलाई गर्न त्यति सजिलो नहुन सक्छ ? तर पनि एकपटक बितेको पाँच वर्षमा देशले के के उपलब्धि हासिल गर्यो भन्ने विषयमा छलफल किन नगर्ने ? फर्केर यिनका मुल्याकन किन नगर्ने ?

               जसलाई हिजो मुलुकलाई केहि गर्ला जस्तो लगेर बहुमतको सरकार बनाउन हामीले होइन म्यान्डेट दिएको ? तर के गर्यो,बाँदरको हातमा नारियल भएन ? आज फेरी ठिक उल्टो गतिमा बढी रहेको छ। जसले आफ्नो दल र नेतालाई मिलाएर अघि बढ्न सकेन,त्यस्ताले मुलुकलाई कसरी अगाडी बढाउछ। सिधा प्रश्नको सिधा उत्तर हुदा हुदै पनि, फेरी अरु कोही छैन भरोसा लाग्दो भन्दै आफ्नो “मत” दिन लग्नु भएको छ भने तपाई पनि देश बिगार्ने मतियार बन्दै हुनुहुन्छ। आफ्नो बन्चरोले आफ्नो खुट्टामा सोझै हान्दै हुनु हुन्छ। होसियार बन्नु होस् र मुलुकलाई अमुल परिवर्तन गर्ने भूमिका निर्वाह गर्नु होस्। ईतिहासमा तपाईको नाम पनि सुनौलो अक्षरले लेखिने छ।  

spot_img
spot_img