युवा नै किन चुनावी प्रचारका लागि ?

 संघ र प्रदेशको निर्वाचन मङ्सिर ४ गते हुने घोषणासंगै निर्वाचनमा भाग लिन दल र दलका नेताहरुको भागदौड शुरु भई सकेको छ। अब सबै नेताहरु जसरी पनि चुनाव जित्ने खेलमा सहभागी भएका छन्। नेपाल जस्तो मुलुकमा लामो समय देखि साम,दाम,दण्ड,भेद लागु गरेर भए पनि आफुले चुनाव जित्नु पर्छ भन्ने सोच राख्ने नेताहरु धेरै छन्। यहि नीति लागु गरेर पटक पटक सत्तामा पुगेका नेताहरु फेरी मङ्सिर ४ गतेको निर्वाचनका लागि निक्कै सक्रिय भएका छन्। निर्वाचन एउटा प्रक्रिया हो,तर नेपालमा निर्वाचनबाट बहुमत प्राप्त गरेर आएको दलले पनि आफ्नो सरकार पूर्ण कार्यकाल चलाउन सक्षम देखिएन। 

              चुनाव घोषणा लगतै दलहरु आफ्नो युवा संगठनलाई सक्रिय गराउन थालेका छन्। अरु बेला कुनै नेताले नसोध्ने युवाहरुको समस्या तर चुनावको बेला त्यहि नेताहरुलाई अति आवश्यक पर्ने युवाहरु। चुनाव सकिए लगतै युवाहरु ताती लगाएर विदेश जाने गर्छन तर ति नेताहरुले अब त न जाउ मैले जितेको छु यहि रोजगार दिनेछु भनेर घोषणा त के सोच्दा पनि सोच्दैनन्। 

                नेपालका नेताहरुले युवा विना चुनाव जित्न सक्दैनन् भने युवाहरुलाई नै किन उम्मेदवार 

    बनाउदैनन ? कारण युवाहरु नै हुन्। युवाहरुले आजसम्म आफ्नो भविष्यको लक्ष्य आफैले देख्न नसक्नु नै हो। साथै सिमित युवाहरुको स्वार्थका लागि धेरै युवाहरु जहिले पनि चुनावमा प्रयोग भईरहेका छन्। त्यसैको फाईदा स्वार्थी नेताहरुले आजसम्म लिई रहेका छन् र अब हुने मङ्सिर ४ गतेको निर्वाचनका लागि पनि फेरी युवाहरु माझ नेताहरु प्रकट भएका छन्। 

                  हुन् त अहिले भर्खर सकिएको स्थानीय निर्वाचनमा केहि युवाहरुले चुनौती दिएर जितेका पनि छन्। अब हुने संघ र प्रदेशको निर्वाचनमा पनि युवाहरु युवाहरुकै रुपमा उम्मेदवारी दिनु पर्दछ या भने युवा उम्मेदवारलाई साथ र सहयोग दिनु पर्दछ। पटक पटक युवाहरुलाई प्रयोग गरेर सत्तामा पुग्ने। तर युवाका लागी न रोजगार,न खेलकुद,न कुनै तालिम र न कुनै अनुदान या सहयोग आज सम्म नीतिगत रुपमा कुनै पनि नेता या दलले गरेको पाईदैन। 

                  जब चुनाव घोषणा हुन्छ अनि मात्र युवाको खोजिनीति हुने गर्दछ,साथै युवाहरु पनि मक्ख भएर तिनै नेताको पछि लाग्न थाल्छन। जसले गर्दा आजसम्म हजारौ युवाहरु विदेश जान बाध्य भएका छन् र हुदै छन्। अरु बेला युवाहरुको कुनै दस्ता,फोर्स,मोर्चा नचाहिने अनि चुनाव कै मुखमा आउदा ति नेताहरुलाई किन चाहिन्छ दस्ता,फोर्स र मोर्चा,अब युवाहरुले बेलैमा विचार पुराउने समय भै सकेको छ। 

                 यी नेताहरुलाई थाहा छ उनीहरुसंग त्यो उर्जा छैन जो युवाहरुमा हुन्छ। त्यसैले युवाहरुले अब यी केहि नगर्ने नेताहरुको लागि आफ्नो उन्नत उर्जा खेर फाल्नु हुदैन। आफुमा भएको देश विकास गर्ने उर्जालाई आफै अघि सरेर आफ्नो उर्जाको शक्तिलाई प्रयोग गर्नु पर्दछ।  

             नेपालमा यी नेताहरुले नै बनाएका युवाका मापदण्ड १६ देखि ४० वर्ष उमेरसम्म लाई युवा भनिन्छ। मानौ एउटा १६ वर्षको युवाले चार पटक सम्म चुनावमा कुनै दल या नेताको पछि लागेर २० वर्ष योगदान दिदा पनि कुनै उपलब्धि हासिल गर्न सक्दैन भने किन आफ्नो युवा उमेरको उर्जावान समय खेर फाली रहने ? उसले सहयोग गरेको नेता चार पटक चुनाव जित्ने, अनि चार पटक नै मंत्री बन्ने खेलमा समय बर्वाद गरि रहेका छन् युवाहरुले ! आफ्नो चुनावी प्रचार र रक्षा आफुले गर्न नसक्ने नेतालाई युवाहरुले अघिपछि लागेर उनको सुरक्षा र प्रचार किन गरि रहने ? जसले आजसम्म राम्रो युवा नीति बनाउन सकेन !    

             यी नेताहरुको कुनै सोच छैन कि आफु भन्दा पछिका युवाहरुलाई मौका दिने या मार्ग निर्देशन गर्ने। यिनीहरु नमर्दा सम्म सत्ताको वरपर घुमिरहने चाहनाले आज देशको यस्तो गति हुदा पनि खै ! कति पटक सत्ता हाक्ने हुन् ? यिनहरुले गरेको निर्णय दुई घण्टा पनि टिक्दैन र परिवर्तन गर्छन। अनि कसरी देश र जनताको हित गर्छन ? अनि यस्ता हुत्तिहारा नेतृत्वको पछि पछि युवाहरु कहिले सम्म लाग्ने हुन् ? अब युवाले ठोस निर्णय गर्ने बेला आएको छ। 

             अब युवाहरुले देश र आफ्नो भविश्यको सुनौलो रेखा कोर्ने हो भने मेरो दल,मेरो नेता नभनी युवाहरु आफै अघि सर्नुको विकल्प छैन। होइन भने हरेक पटक यस्तै चुनावमा अघि झन्डा र डण्डा बोक्ने अनि चुनाव सकिए पछि जे गरे पनि ति नेताहरु बोक्ने बाहेक अरु कुनै नौलो कार्य पाउने छैनन् युवाहरुले। युवा हो शिक्षित मात्र भएर हुदैन अब आफ्नो देश र आफ्नो लागि सचेत हुनु पर्दछ। 

                  नेताले जे निर्णय गरे पनि चोकमा आएर दिप प्रज्वलित कार्य गर्नु हुदैन। आज त्यसैको परिणाम देश र जनताले दिनहुँ विभिन्न प्रकारको सास्ती भोग्दै छन। हिजोसम्म नेपाल स्वतंत्र रहेको महसुस हुन्थियो भने आज हरेक दृष्टिकोणले दबिएको महशुस हामी सबैलाई भएको हुनु पर्दछ। यदि अब पनि युवाहरु अघि सरेर देश विकास गरि भ्रष्टाचार मुक्त नेपाल बनाउन जमर्को गरेनन भने इतिहासले कहिले पनि नेपाली युवाहरुलाई माफ गर्ने छैन। 

                 अब कसैको स्वार्थका लागि हली नबनौ। अहिले देशभर हेबीवेट उम्मेदवारहरु चर्चामा आएको नाम हेर्ने हो भने उनीहरु पटक पटक चुनाव जितेर पटक पटक मंत्री बनेका छन्। तर उनीहरुले गरेको गलत निर्णयको कारण आज देशमा विरोजगार,महंगाई,भ्रष्टाचार,बेथिति,आर्थिक अवस्था,परनिर्भरको जगमा देशलाई पुर्याएका छन्। 

                   त्यसैले सिमित नेता,सिमित दल र सिमित बाठा युवाहरुको लागि अब नेपाली युवाहरु सचेत भई आफ्नो सम्मान र अधिकारका लागि जसले जहाँबाट जे गर्न सक्छ आफ्नो ठाउँबाट अहिले सम्म भई रहेको बेथितिको विरुद्ध अघि आउनु जरुरी छ। युवा देशका भार होइनन,देशका लागि कर्णधार हुन्। 

spot_img
spot_img