गोर्खा सैनिक कि अग्निवीर ?

 गोर्खा सैनिक :-

         गोर्खा युद्धका क्रममा गोर्खाहरुले देखाएको लडाईका गुणहरुबाट प्रभावित भएर सर डेभिड ओक्टरलोनिले ब्रिटिश भारतीय सेनामा गोर्खाहरूका क्षमतालाई तुरुन्तै बुझेका थिए। २४ अप्रिल १८१५ मा गोर्खा रेजिमेन्टको पहिलो बटालियन नासिरी रेजिमेन्टको रुपमा खडा भएको थियो। यो रेजिमेन्ट पछि पहिलो राजा जर्जको आफ्नै गोर्खा राइफल्स भयो। सन् १९४७ मा भारत स्वतंत्र भए पछि बेलायत-भारत र नेपालको त्रिपक्षिय भएको शर्त अनुसार दोश्रो,छैठौ,सातौ र दशौ ( २,६,७ र १० औ ) चार बटालियन बेलायत र बाकी भारतमा पहिलो,तेश्रो,चौथो,पाचौ,आठौ,नौ र एघार ( १,३,४,५,८,९, र ११ ) स्वतन्त्र भारतको सेनामा समायोजन भएको थियो। 

           उपमहाद्वीपमा ब्रिटिश ईस्ट इन्डिया कम्पनीको विस्तारमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेका थिए। गोर्खाहरुले गोर्खा-सिख युद्ध,पहिलो र दोश्रो एङ्ग्लो-सिख युद्ध,अफगान युद्ध र १८५७ को भारतीय विद्रोहलाई दबाउनमा भाग लिएका थिए। यी वर्षहरुमा अंग्रेजहरुले गोर्खाहरूलाई भर्ति गर्न जारि राखे र गोर्खाहरुको संख्या बढाउदै रेजिमेन्टहरु थप्दै गए।

              ब्रिटिश सेनामा हस्तान्तरण गरिएका चार गोर्खा रेजिमेन्टहरु अन्य बाँकी ब्रिटिश उपनिवेशहरुमा पठाएका थिए। मलाया र सिंगापुरमा मलायन आपतकालमा तिनीहरुको उपस्थिति आवश्यक थियो,तिनीहरुले सिंगापुरमा सिख इकाईलाई प्रतिस्थापन गर्नु थियो। जुन भारतीय स्वतंत्रतामा भारतीय सेनामा फर्किएको थियो। मलाया ( मलेसिया र ब्रुनेई ) र सिंगापुरमा ति ईकाईहरु,यी ब्रिटिश उपनिवेश हरुले स्वतंत्रता प्राप्त गरेपछि अझै पनि क्रमश: ब्रुनाई र सिंगापुरमा सुरुक्षा बलहरुको हिस्सा छन्। 

                अहिले भारतमा गोर्खा राईफ़ल्सको चार वटा गोर्खा प्रशिक्षण केन्द्र रहेको छ। ११ गोर्खा राईफ़ल्स रेजिमेन्टको सेन्टर लखनउ, उत्तर प्रदेश, १४ गोर्खा प्रशिक्षण केन्द्र,सुबाथु,हिमाचल प्रदेश, ३९ गोर्खा प्रशिक्षण केन्द्र,वाराणसी,उत्तर प्रदेश,५८ गोर्खा प्रशिक्षण केन्द्र,ह्याप्पी भ्याली,शिलाङ्ग,मेघालयमा रहेका छन्। गोर्खा भर्ति केन्द्र गोरखपुर कुनाराघाट र घूम दार्जिलिंगमा रहेको छ। अहिले भारतीय सेनामा गोर्खा सैनिक लगभग ३२ हजार संख्यामा रहेका छन्। भारतले आफ्नो देशको आन्तरिक द्वन्द व्यवस्थापन गर्न ३ वटा राष्ट्रिय राईफ़ल्स बटालियन खडा गरेका छन्। जुन काउन्टर इन्सेरजेन्सि फोर्सको रुपमा परिचालन गरिएको छ। गोर्खा बटालियनबाट गोर्खा सैनिकहरु मिलाएर १५ ,३२ ,र ३३ राष्ट्रिय राईफ़ल्स बनाएका छन्। 

                  भारतले स्वतंत्रता प्राप्त गरे पछि गोर्खाहरुले भारतीय सेनालाई समावेश गरेको हरेक प्रमुख अभियानमा लडेका छन्। भारत सरकारले प्रदान गर्ने धेरै उच्च युद्ध वीरता पदकहरु प्राप्त गरेका छन् गोर्खा सैनिकहरुले। २/८ गोर्खा राईफल्सले भारत राष्ट्रलाई सबैभन्दा लोकप्रिय र उल्लेखनीय फिल्ड मार्शल साम मानेकशा दिएको छ। फिल्ड मार्सल मानेकशा भन्ने गर्थे – “यदि कुनै मानिसले म मर्न डराउदिन भन्छ भने कि उ झुठ बोलिरहेको छ या भने उ गोर्खा हुनु पर्छ।” त्यसैले मानेकशाले आफुलाई म गोर्खा साम बहादुर हुँ भनेर चिनाउने गर्थे। गोर्खा सैनिकहरुले भारत-चीन (१९६२) युद्ध, भारत-पाक (१९७१)युद्ध,कारगिल (१९९९) युद्ध मा विरता पुर्वक लडेर सम्मान र युद्ध पदक प्राप्त गरेका छन्। भारतीय सेना अन्तर्गत गोर्खा सैनिकहरुले बंगलादेश,श्रीलंका,लेबनान,सुडान,सियरा लियोनमा संयुक्त राष्ट्र शान्ति मिसनमा पनि सेवा गरेका छन्। 

 अघ्निपथ योजनाका अग्निवीर  :-

                   भारत सरकारले अब चार वर्षभित्र १० लाख युवाहरुलाई सरकारी निकायमा रोजगारी दिने उदेश्यले अग्निपथ योजना अघि सारेको छ। अघ्निपथ योजना विशेष गरेर भारतीय सेनामा युवाहरुलाई रोजगारी दिने उदेश्यले लागु गरिएको छ। अग्निपथ योजना अन्तर्गत  १७. ५ देखि २१ वर्ष उमेर भित्रका युवाहरु भारतीय सेनाको थल,जल र वायु सेनामा भर्ति हुन् पाउने छन्। युवाहरु शैक्षिक योग्यता १० या १२ पास भएको हुनु पदर्छ। तर सरकारले सर्विस अवधि जम्मा ४ वर्षको तोकेको छ र चार वर्षपछि भर्ति भएका मध्येबाट २५% मात्र नियमित सेनामा निरन्तरता दिने र ७५% लाई पेन्सन विनाको सुविधा दिएर घर पठाउने योजना रहेको छ। पहिलो वर्ष २०२२ मा ४६ हजार अग्निवीरहरु भर्ति गर्ने योजना सरकारको रहेको छ।  

                अग्निपथ योजना अन्तर्गत भर्ति भएका सेनालाई “अग्निवीर” को नामले चिनिने छ। अग्निवीर सिपाही रेंकका लागि मात्र भर्ति हुनेछ। अग्निवीरहरुलाई पहिलो वर्षमा रु. ३० हजार,दोश्रो वर्षमा ३३ हजार,तेश्रो वर्षमा ३६ हजार,५ सय र चौथो अनि अन्तिम वर्षमा ४० हजार मासिक तलब दिने जानकारी भारत सरकारले योजनामा राखेको छ। जसमा मासिक तलबमा कट्टा हुने ३०% मा सरकारले शत प्रतिशत थपेर अग्निवीरहरुलाई एकमुष्ट करिब ११ लाख ७० हजार चार वर्ष पछि घर पठाउदा दिने छ। सर्विसमा हुदा ४८ लाखको अग्निवीरहरुको इन्सुरेन्स गरिएको हुनेछ।   

                 भारतमा अग्निपथ योजनाको युवाहरुले निक्कै विरोध गरेका छन्। तर पनि भारत सरकारले यस योजनालाई लागु गरिसकेको छ। योजनाको युवाहरुले विभिन्न कारणले विरोध गरेका छन्। जस्तै कोभिद महामारीका कारण दुई वर्षमा कुनै प्रकारको भर्ति खुलेको थिएन,जसको कारण धेरै युवाहरुको दुई वर्षमा उमेर बढेर २१ वर्ष नाघिसकेको छ। जसले गर्दा भर्ति देखाउन नपाउने देखिए पछि भारत सरकारले पहिलो पटक भर्ति उमेर २३ वर्ष कायम गरेको छ। तर विरोधका अन्य कारणहरु रहेको आन्दोलनकारी युवाहरुको भनाई रहेको छ :- १) सेवा अवधि ४ वर्ष, २) पेन्सन नपाउने, ३) ४ वर्षपछी विरोजगार हुने, ५) मेडिकल सुविधा नपाउने,६) ग्रेजुटी नपाउने ७) कारणवश यदि कुनै अग्निवीर शहिद भएमा जीवनभर सुविधा नपाउने ८) सैनिक होइन कि करारमा मजदूर भर्ति गरेको जस्तो देखिने। यस्ता विभिन्न कारणले युवाहरुले अग्निपथ योजनाको विरोध गरिरहेका छन्। 

             त्रिपक्षिय सम्झैता अनुसार नेपाली युवाहरु लामो समय देखि भारतीय सेनामा भर्ति भई रहेका थिए। अब नेपाल सरकारले अग्निपथ योजना अनुसार नेपालमा हरेक वर्ष हुने भारतीय फौजका लागि भर्ति कार्यक्रम सन्चालन गर्न रोक लगाउछ कि लगाउदैन ? भारतसंग  के पहल गर्छ अहिले सम्म नेपाल सरकार खुलेर कुटनीतिक पहल गरेको देखिदैन। किनकी भारत सरकारले अग्निपथ योजना र  पहिला जस्तो नियमित भर्ति संगसंगै लिएर जाने कुनै स्पष्ट पारेको छैन। त्यसैले नेपाली युवाहरु यदि अहिले भर्ति भएमा सोतह अग्निपथ योजना अनुसार भर्ति भएर अग्निवीर सिपाही हुने छन। 

            यदि नेपाल सरकारले कुनै कुटनीतिक पहल नगरी अग्निपथ नेपालमा लागु गर्न दिए धेरै नेपाली युवाहरु हरेक चार वर्षमा तालिम प्राप्त विरोजगार सैनिक हुने छन। तिनलाई नेपाल सरकारले कसरी व्यवस्थापन गर्ने छ र तिनीहरुले पेन्सन नपाउने भए पछि पेन्सन वापत भारतबाट नेपाल भित्रिने भारु रकमको कमि हुनेछ। नेपालको वार्षिक रक्षा बजेट भन्दा धेरै भारतीय पेन्सनरहरुले भारु नेपालमा पेन्सन थाप्दै आएका छन्। एउटा युवा भारतीय सेनामा भर्ति भए पछि उसको रेंक अनुसार कम्तिमा १७ वर्ष र धेरैमा ३० वर्ष निरन्तर जागिर गरिरह्न्थियो। उसले जागिरको दौरान प्राप्त गरेको तलब बचाएर नेपाल आफ्नो परिवारको आवस्यकता पुरा गर्थियो। उ लामो समय सम्म रोजगार,देश र परिवारको व्यय भारमा टेवा दिने गर्दथियो। त्यति मात्र होइन उनको र उनको श्रीमतीको ठुला रोगहरु लागेमा निशुल्क उपचार भारत सरकारले गरि रहेको छ। अब त्यो व्ययभार अग्निवीर भएमा आफैले व्योहर्नु पर्ने छ। 

             करिब २० हजार युवाहरु सर्विसमा र लाखौको संख्यामा रहने पेन्सनर अब केहि वर्षमा समाप्त हुनेछ। त्यसै पनि भारत सरकारले भारतीय गोर्खाको भर्ति संख्या बढाउदै लागेको छ। हिजो १००% हुने भर्ति आज नेपालका युवाहरुलाई ६०% मात्र भर्ति गर्ने गरेका छन्। बाकी भारतको दार्जिलिंग,मेघालय,उत्तरखंड,आसाम,हिमाचल प्रदेशका भारतीय गोर्खालाई भर्ति गरिएको छ। 

             नेपाल सरकारले आफ्नो नागरिकको आर्थिक अवस्था सधै बलियो बनाउन पनि अग्निपथ योजनालाई साथ दिनु हुदैन। यदि अग्निपथ योजनालाई लागु गर्ने सहमत नेपाल हुन्छ भने १९४७ मा भएको त्रिपक्षिय सम्झौताको के हुन्छ ? बेलायतले पनि विगतका वर्षहरु देखि नेपाली युवाहरुको भर्ति संख्या घटाउदै लागेको हामी सबैलाई थाहै छ। नेपाल सरकारले आफ्नो देशभित्र रोजगार दिन नसकेर दिनहु हजारौको संख्यामा युवा युवतीहरु वैध अवैध तरिकाबाट विदेश पलायन भएको छ। यदि नेपाल सरकारले अग्निपथ योजना सहर्ष स्वीकार गरे झन् लाखौ युवाहरु बिरोजगार हुने निश्चित छ। अहिले सम्म रेमिटान्सले चलिरहेको देश,अब भारतबाट ठुलो राशीमा पेन्सन रेमिटान्सको कमीले नेपालको आर्थिक अवस्था झन् जटिल मोडमा पुग्ने निश्चित छ। कोभिद -१९ को महामारी पश्चयात अहिले देशको आर्थिक स्थिति नाजुक बन्दै गएको छर्लंग छ।     

                तर नेपाल सरकारले अघ्निपथ अन्तर्गत भर्ति भएका अग्निवीर सैनिकलाई नेपाली सुरुक्षा बलमा भर्ति गराउने योजना राखे,खर्च नगरी नेपाली सुरुक्षा बलमा राम्रो तालिम प्राप्त सैनिक पाउने छ। जसले नेपाल सरकारको सुरुक्षा बजेट घट्ने देखिन्छ। साथै ति तालिम प्राप्त अवकाश प्राप्त सैनिकलाई औधोगिक सुरुक्षाको लागि पनि तैनात गर्न सकिन्छ। 

                    “गोर्खा” भन्ने बित्तिकै संसारका जुनसुकै युद्धमा न डराउने,न थाक्ने र न हार्ने बहादुर सैनिकको रुपमा चिनिन्छ। अब नेपाल सरकारले नेपाली युवाहरुलाई “गोर्खा ब्रान्ड”ले संसारका धेरै मुलुकमा सुरुक्षाका लागि युवाहरु पठाउन सक्दछ। जसले धेरै आर्थिक लाभ देशले प्राप्त गर्न सक्दछ। त्यसैपनि अहिले फ्रान्स आर्मी,अमेरिकन आर्मीमा नेपाली युवाहरु भर्ति भैरहेकै छन्। साथै नेपाल सरकारको अनुमतिमा आन्तिरिक युद्धमा फसेको मुलुकमा विभिन्न मेनपावर र विदेशीको सहयोगमा नेपाली युवाहरु र भूत पुर्ब सैनिकहरुलाई ईराक,अफगानिस्तान र कुवैतमा सुरुक्षा गर्न पठाई रहेको हामी सबैलाई थाहै छ।

               त्यसैले नेपाल सरकारले समयमा आफ्नो युवाहरुलाई त्रिपक्षिय सम्झौता अनुसार भएको शर्तमा ब्रिटिश र भारतीय सेनामा नियमित भर्ति गराउनु पर्दछ। होइन भने भारत सरकारले चार वर्षमा १० लाख युवाहरुलाई सरकारी जागिर दिने अग्निपथ जस्तो योजना ल्याएर स्वदेशमै यी होनहार युवाहरुलाई  रोजगारीको व्यवस्था गरी  देश निर्माणमा लगाउनु जरुरी छ। युवा विना कुनै देशको आर्थिक उन्नति सहितको विकास हुन् सक्दैन। समयमा हामी सबैले सोच विचार गरौ।     

spot_img
spot_img