रिसलाई उर्जामा परिवर्तन गरौ !

0
386
https://www.pexels.com/ Free Angry photo

महात्मा गान्धीले भनेका थिए – “रिस एक क्षणको पागलपन हो। जो क्षणिक हुन्छ तर यसले ठुलो क्षति निम्त्याउने सामर्थ राख्छ। “

           रिस,रोष,क्रोध,कोप,जंग र झोक जे भने पनि प्राकृतिक रुपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो।  समय परिस्थिति र विचार अनुसार दैनिक रुपमा हाम्रा भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आईरहेका हुन्छन र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर संचालन गरिरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्था मध्ये “रिस” एक हो। 

           रिस प्राय मानिसलाई दिनभरमा धेरै पटक उठी रहन्छ। रिस उठ्ने कारण विभिन्न हुन् सक्दछन।  सामान्यतया मानिसको मानसिकता,सोचाईमा चोट पुगेको खण्डमा,दिक्दार लाग्दा र आलोचना हुने अवस्थामा रिस उठ्ने गर्दछ। तर रिसको अभिव्यक्ति हल्का झोक चल्ने देखि लिएर उग्ररुप धारण गर्ने सम्म हुन् सक्छ। कहिले काहीं तनाव,थकान,भोग,आर्थिक समस्या,असफलताको नैरास्यता,दुख,कष्ट र अन्यायमा पर्दा पनि रिस उठ्ने गर्दछ। 

          रिस उठ्ने अन्य विभिन्न कारण हुन सक्ला। तर रिसले गर्दा कहिले कहीं आफैलाई धेरै क्षति हुनसक्छ। हुन् त  रिस उठ्यो भन्दैमा जे पायो त्यहि भन्न या गर्न पाईदैन। यदि कुनै प्रकारको क्रिया कलाप  गरे हानि  नोक्सानी सबैभन्दा बढी आफैलाई हुने गर्दछ। त्यसैले त हाम्रा बुढा पाका भन्ने गर्थे – “रिसले आफु खा,बुद्धिले अरुलाई। “

           रिस उठ्दा मानिसले ठुलो स्वरमा कराउने,चिच्याउने गर्दछन। अरुलाई जे पायो त्यहि भन्ने ,आक्रोश पोख्ने कार्य गर्छन।  कतिपय मानिसले त हात नै  हालेर झगडा गर्ने गरेको देखिन्छ। जुन मानिसले रिसमा हात प्रहारमा उत्रन्छ,उसले धेरै क्षति भोग्नु पर्ने हुन्छ। उसले आफुले त क्षति व्योहोर्छ नै अरुलाई पनि हानी पुर्याएको हुन्छ।  जसको कारण रिसको आवेगमा गरेको क्रियाकलापले  सजाय भोग्नु पर्ने अवस्था सम्म पुग्दछ। 

         कतिपय मानिसहरु रिस उठ्दा अरुलाई  कुनै प्रतिक्रिया नदिने पनि हुन्छन,तर रिसले मुर्मुरिएर अन्य कार्य गरेर रिस पोख्ने गर्छन। जस्तै – खाना नखाने,भोकै सुति दिने,जीवनभर नबोल्ने,आफ्नो शरीरलाई आफैले चोट पुर्याउने खालका गतिविधि गर्ने,घरबार छोडेर हिड्ने,सवारीसाधन लिएर  हुईकिने र नबोली एकहोरो कुनै काम गरिरहने गर्दछन। रिसमा मानिसहरुले आ-आफ्नो स्वभाव अनुसार क्रिया प्रतिक्रिया  गर्ने गरेको  देखिन्छ। 

        रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यवहारिकरुप भनेको कसै माथि हमला वा आक्रमण गर्नु हो। रिस सोझै देख्न सकिदैन। तर मानिस रिसाएको छ भने थाहा हुन्छ। कुनै मानिस रिसाएको छ भन्ने कुरा उसको आक्रमण व्यवहारबाट थाहा हुन्छ। मुलत : रिस एउटै भए पनि रिसका अनेकौ रुप छन्।  अहिले समाजमा भएका धेरै घटनाहरुको शुरुवात मानिसको रिसबाट उत्पन्न भएको देखिन्छ। 

         रिसलाई मानिसले समयमा व्यवस्थापन गर्न जाने उर्जामा परिवर्तन गर्न सक्दछ। आफु भित्र उठेको  रिसलाई आफैले नकारात्मक मनोभावनालाई एकैछिन सकारात्मक सोचका साथ विचार गरे,परिवर्तनको मार्गमा  जान सक्दछ। कुनै कुरामा चित्त बुझेको छैन या कुनै कुरा माथि रिस उठेको छ  भने समाधानको विकल्प खोज्नु अति उत्तम हुन्छ। समाधानको विकल्प खोज्ने तर्फ अग्रसर हुने बित्तिकै उठेको रिस धेरै हद सम्म आफै मथ्थर  हुदै जान्छ।    

         रिसलाई उर्जामा परिवर्तन गर्न सबैले आफ्नो दैनिक जीवनमा थोरै मात्र ध्यान पुर्याएमा पुग्छ। रिस उठ्दा स्वयम् लाई पहिल्यै थाहा हुन्छ। तर रिस पोख्ने र प्रकट गर्ने तरिका मानिसको स्वभाव अनुसार फरक फरक हुनसक्छ। मानिसले आफ्नो रिसलाई आफैले व्यवस्थापन गरेर उर्जामा परिवर्तन गर्ने सधै प्रयास  रहनु पर्छ। 

Mahatma Gandhi

        महात्मा गान्धीलाई भारतीय भएकै कारण अंग्रेजहरुले रेलमा यात्रा गर्न नदिएर समान सहित धक्का दिई रेलबाट झरी दिएका थिए। त्यो बेलामा युवा गान्धीलाई कति रिस उठ्यो होला ,हामीले कल्पना पनि गर्न सकदैनौ। तर त्यो घटनाका कारण उठेको रिसलाई युवा गान्धीले एउटा संकल्प सहित रिसलाई व्यवस्थापन गर्नु को कारण भारतबाट अंग्रेजहरु फिर्ता जान बाध्य भएका थिए। गान्धीजीलाई अंग्रेजले उठाएको रिसका कारण अंग्रेजहरु ले नै लामो समय सम्म भारतमा गरेको शासन छोडेर जानु पर्यो। 

       अफ्रिकाका नेलसन मन्डेलाले पनि आफ्नो रिसलाई समयमा व्यवस्थापन गरेकै कारण संसारभर  रंगभेद आन्दोलनले गति लिएको थियो। जसको कारण अफ्रिकामा हुने रंगभेद को अन्त्य नै गराए नेल्सन मन्डेलाले। जसले गर्दा अफ्रिकामा नेलसन मन्डेलालाई  “अफ्रीकाको गान्धी ” भनेर नै  परिचय गराउन  थालियो। संसारमा यस्ता थुप्रै रिसलाई सकारात्मक सोचका  साथ अघि बढ्दा या ति महान हस्तीहरुले सामान्य आफ्नो रिसलाई व्यवस्थापन गर्दा नै यस्ता मानव हितका महान कार्यहरु भएका छन्।  

       यी यस्ता  उदाहरण हरु तपाई हाम्रो समाजमा पनि आफ्नो रिसलाई  सकारात्मक सोचले  व्यवस्थापन गरेर सफल जीवन बिताई रहेका  धेरै घटनाहरु देख्न सक्छौ। रिस उठ्छ,तर किन रिस उठ्यो भन्ने बारेमा एक पटक आफैले आफैलाई मनन गरि विचार गरौ भने रिसका कारण र समस्याको समाधान आफै भित्र पाउन  सक्छौ। त्यो आफु भित्र प्राप्त भएको रिसको हल लाई सबैको भलो हुने कार्यमा प्रयोग गर्न सक्छौ। त्यसैले रिस उठ्यो भन्दैमा हतारमा रिस पोख्ने र प्रतिक्रिया दिने कार्य बाट टाढा हुनुहोस। 

       बस तपाई आफ्नो रिसको आवेगबाट एकै छिन पर बस्नु नै तपाईले सफल जीवन प्राप्त गर्नु हो। 

                                         “यदि छुट्टिएर खुशी मिल्ने भए ,

                                          रुखबाट झरेको पात कहिल्यै ओईलिने थिएन !

                                         रिस गरेर सधैँ  छुट्टी मिल्ने भए ,

                                        जीवनमा यतिका घटना परिघटनाका दिनहरु आउने थिएन !!”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here